arrow

पुराना मुद्दा घटाउँदै म्याग्दी अदालत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
court myagdi.jpg
फाइल तस्बिर

म्याग्दी । म्याग्दी जिल्ला अदालतले पुराना मुद्दाको सङ्ख्या घटाउँदै लगेको छ ।

दर्ता भएको एक वर्षभित्र नै मुद्दाको फैसला गर्ने कार्ययोजना बनाएको अदालतले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित मुद्दाको निरन्तर सुनुवाइ गरिएको अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिए ।

उनकानुसार आर्थिक वर्ष २०८०/८१ मा एक वर्ष नाघेका मुद्दाको सङ्ख्या १२ वटामा झारिएको छ ।

“आव २०८०/८१ मा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका एक सय ३२ र नयाँ चार सय ६१ सहित पाँच सय ९२ मुद्दा रहेका थिए”, उनले भने, “गत वर्ष लक्ष्य भन्दा एक सय २५ दशमलव ७९ प्रतिशत बढी मुद्दा फस्यौट गर्दा पनि एक सय १० वटा मुद्दा यो आवका लागि जिम्मेवारी सरेका छन् ।”

अघिल्लो आर्थिक वर्षमा दुई वर्ष पुराना मुद्दा पनि रहेकामा यसपालि फैसला हुन बाँकी मुद्दा १२ देखि १८ महिना अवधिका रहेका श्रेष्तेदार रेग्मीले बताए ।

वादी र प्रतिवादी पक्ष तोकिएको समयमा सुनुवाइमा उपस्थिति नहुनु, प्रक्रिया र अङ्ग नपुग्नु आदि कारण एक वर्ष पुराना मुद्दा बाँकी नराख्ने लक्ष्य सफल नभएको उनले सुनाए ।

गत वर्ष म्याग्दी अदालतमा पाँच सय ८९ मुद्दा दर्ता हुुने अनुमान गरिएकोमा पाँच सय ९४ वटा दर्ता भएका थिए । अदालतले तीन सय ८४ मुद्दा फर्छ्र्यौट गर्ने लक्ष्य राखेकामा चार सय ८३ फैसला गरेको छ ।

३६ वटा मुद्दाको निरन्तर सुनुवाइ गरिएकोमा २३ मुद्दा फर्छ्र्यौट र १३ बाँकी रहेका छन् ।

अदालतले मुद्दालाई सरल, सामान्य र विशेष समूहमा विभाजन गरेर सुनुवाइ गर्ने अभ्यास गरेको श्रेष्तेदार रेग्मीले जानकारी दिए ।

हाल विचाराधीन १६ मुद्दासँग सम्बन्धित २४ जना पुरुष र छ बालबालिका गरी ३० जना थुनामा रहेका छन् ।

यसैगरी गत आवमा अदालतको फैसलाबाट तीन महिला र ५९ पुरुषसहित ६२ जना कैदका लागि कारागार चलान भएका छन् । जरिवाना नतिरेवापत जेल चलान हुने चार जना छन् ।

यस्तै गत वर्ष जिम्मेवारी सरेर आएका आठ र २६ नयाँ मुद्दामा दोषी ठहर भएकाबाट एक सय १६ वर्ष पाँच महिला २७ दिन कैद र रु ९९ लाख ४७ हजार पाँच सय १८ जरिवाना असुल उपर भएको छ ।

कार्यान्वयनका लागि निवेदन परेका ३९ मुद्दामा छ सय १३ वर्ष सात महिना २४ दिन कैद र रु तीन करोड ९८ लाख ७१ हजार ६११ जरिवाना असुल उपर गर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ