arrow

टीकापुरमा चितुवाको त्रास, अँध्यारो भइसकेपछि घर बाहिर निस्कन डर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
leopard-1222212.jpg

कैलाली । टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ । चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन् ।

केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाँचे । उनको शरीरमा घाउ लागेको छ । यद्यपि उन खतरामुक्त छन् । उपचारपछि उन तङ्ग्रिएका छन् ।   चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ ।

चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन । “राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिए”, टीकापुर–७ का शिवम चौधरीले भने, “त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ ।”

गाउँमा जङ्गली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताउँछन् । “अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ”, उन भन्छन्, “जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ ।”

यहाँ सत्ती कर्णाली र श्रीलङ्का सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जङ्गल भएकाले जङ्गली जनावरको आक्रमण बढिरहेको वडा नंं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । पारिबाट हात्ती, बाघ र चितुवा आउछन्, टीकापुरका वडा नं ७, ८, ५ र २ मा जङ्गल क्षेत्र जोडिएकाले यी वडामा जङ्गली जनावरको जोखिम छ । ”

वडा नं ८ मा चितुवामात्र होइन हात्तीले समेत त्यत्तिकै सताउने गरेका छन् । हात्ती नियनत्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जङ्गली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उनको कथन छ ।
 
सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जङ्गली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सबडिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताए । “केही महिनादेखि जङ्गली जनावरको आक्रमण बढेको जानकारी आएको छ”, उनले भने, “त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जङ्गली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ ।” डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ