arrow

एकैदिन तीन लाख ७२ हजार रुपैयाँ भेटी संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
galeshwor dham.jpg
फाइल तस्बिर

पोखरा । म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय मन्दिरमा एकै दिन तीन लाख ७२ हजार रुपैयाँ भेटी संकलन भएको छ । साउन महिनाको पहिलो सोमबार दर्शन र पूजा गर्न पुगेका भक्तजनमार्फत तीन लाख ७२ हजार तीन ७२ रुपैयाँ भेटी संकलन भएको हो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्यसचिव बलबहादुर खत्रीका अनुसार कोषका पदाधिकारी, सुरक्षा निकाय र स्थानीय सरोकारवालाको रोहोवरमा संकलित भेटी रकम गणना गरिएको थियो ।

यही साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा २० हजार बढी भक्तजन आएका थिए । यस पटक म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, रुपन्देही, काठमाडौँलगायतका स्थानबाट भक्तजन आएको कोषले जनाएको छ ।

मन्दिर, दानपेटिका, कुण्ड, शिवलिंगलगायतका ठाउँमा चढाएका भेटी रकमलाई कोषले गणना गरेर बैँक खातामा जम्मा गरिएको सदस्यसचिव खत्रीले जानकारी दिए ।

संकलित रकमलाई सरोकारवालाको रोहोवरमा गणना गरीे बैँक खातामा जम्मा गरिने र आवश्यकता अनुसार धार्मिक संरचना, पूर्वाधार निर्माण तथा कोषको नियमित कर्ख गरिँदै आएको अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।

आफ्नो मनोकांक्षासहित परिवारमा सुख, शान्तिको कामनाका साथ भक्तजन गलेश्वर शिवालयको दर्शन गर्न पुग्ने गरेका छन् ।

सोमबार महिलाहरू ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजाअर्चना गर्ने गर्दछन् । गत सोमबार देशैभरका शिव मन्दिरमा व्रतालु महिलाको भीड लागेको थियो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्त हुने जनविश्वास पनि छ । साउन महिनालाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि लिने गरिएको पाइन्छ ।

मुस्ताङमास्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धारा जडान गरिएको छ ।

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले गौमुखी धारामा स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ ।

पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ ।

सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर महादेव पृथ्वीको भ्रमण गर्नेक्रममा गलेश्वरमा आइपुग्दा गला पतन भएकाे र त्यसपछि गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थ र पुराणमा उल्लेख छ ।

गलेश्वरमा साउन महिनाको प्रत्येक सोमबार, शिवरात्री र बालाचतुर्दर्शीमा विशेष मेला लाग्छ । साथै हरेक दिन सयौँ भक्तजन यस मन्दिरमा पुग्ने गर्दछन् । गलेश्वर शिवालय धामकै रुपमा परिचित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ