arrow

एक वर्षमा दुई खर्ब ६३ अर्ब रुपैयाँ लगानी प्रस्ताव, ४५ हजारलाई रोजगारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
department-of-industry-udhyog-bibhag-उद्योग विभाग.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एक वर्षको अवधिमा दुई खर्ब ६३ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा उद्योग विभाग अन्तर्गत दर्ता हुने विभिन्न कम्पनीहरुमा यस्तो लगानी प्रतिवद्धता व्यक्त भएको हो ।

यो उद्योगले ४५ हजारलाई रोजगारी दिने प्रस्ताव गरेका छन् । यो स्वदेश र विदेशबाट प्राप्त भएको कुल लगानी प्रतिवद्धता हो ।

यो अवधिमा वैदेशिकतर्फ ६२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको छ । कुल ४०२ कम्पनीमार्फत एक वर्षको अवधिमा ६१ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी गर्ने प्रस्ताव प्राप्त भएको छ । 

यो लगानीबाट १९ हजार ५ सय ६५ जनालाई प्रत्यक्ष रोजगारी दिने व्यवस्था सम्बन्धित कम्पनीहरुले गरेका छन् । सरकारले ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धताको अपेक्षा गरेको थियो । यो अवधिभित्र लक्ष्यभन्दा झण्डै ६३ प्रतिशत बढी प्रस्ताव प्राप्त भएको हो । 

त्यस्तै यो अवधिमा स्वदेशबाट २ खर्ब १ अर्ब रुपैयाँ पुँजीसहितका उद्योग दर्ता भएका छन् । साना, मझौला र ठूलासमेत गरी कुल ४३४ वटा कम्पनीबाट सो बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको हो ।

त्यसमध्ये ३३३ वटा साना, ५२ वटा मझौला र ४९ वटा ठूला उद्योगहरु रहेका छन् । यी कम्पनीबाट २५ हजारले नयाँ रोजगारी प्राप्त गर्ने उल्लेख गरिएको छ । 

यो अवधिमा साना २००, मझौला ८५ र ठूला ८० उद्योग दर्ता हुने लक्ष्य लिइएकोमा साना उद्योगहरु तुलनात्मक रुपमा बढी दर्ता भएको देखिएको छ । मझौला र ठूला उद्योगको भने लक्ष्य प्राप्त हुन सकेको छैन । 

यो अवधिमा २ वटा प्याटेन्ट, ११ वटा डिजाइन र ६ हजार २१ वटा ट्रेडमार्क दर्ता भएका छन् । ११३ वटा ट्रेडमार्क सम्बन्धी मुद्दामा विभागले कारबाहीसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ