arrow

नागढुङगा–सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुमगन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
nagdhunga-surung-marga-51-01-03.jpg

काठमाडौँ।  मुलुककै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला’ को भौतिक निर्माणबारेमा सङ्घीय संसद्को भौतिक पूर्वाधार विकास समितिले बिहीबार स्थलगत अनुमगन गरेको छ । 

सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुमगन गरी जानकारी लिएको हो । नागढुङ्गा नौबिसे सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ । हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । 

स्थलगत अनुमगनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ । निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ । 

मुआब्जा वितरण, चर्किएको जमिन एवं खानेपानीको समस्या समाधान गर्नुपर्नेमा स्थानीयवासीले संसदीय समिति समक्ष माग राखेका थिए । आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी छन् ।

हालसम्मको निर्माण गुणस्तरीय रहेको जानकारी दिँदै सांसद सापकोटाले सुरुङ सञ्चालन पूर्वको तयारीमा केही ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताए । सुरुङ सञ्चालनका लागि झण्डै एक सय जना कर्मचारी आवश्यक पर्ने देखिन्छ । त्यस्तै अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेछ । 

गत वैशाख ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सुरुङमार्ग ब्रेकथू गरेका थिए । सुरुङमार्गको दुरी दुई हजार छ सय ८८ मिटर रहेको छ ।
 
संसदीय समितिले नागढुङ्गादेखि गल्छीसम्म निर्माणाधीन पुथ्वीराजमार्गको स्थलगत अनुमगन गर्ने सांसद सापकोटाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ