arrow

शक्तिशाली नेता ट्रोङको अवसान, अन्त्येष्टि शुक्रबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
Nguyen-Phu-Trong.jpg

काठमाडौँ ।  भियतनामको राजधानी हनोईमा बिहीबार भियतनामी कम्युनिष्ट पार्टीका नेता गुयेन फु ट्रोङको अन्त्येष्टिका लागि उच्च अधिकारीसहित हजारौं नागरिक भेला भएका छन् ।

गत साता राजधानी हनोईको एक सैनिक अस्पतालमा वृद्धावस्थाका कारण देखिएका गम्भीर रोगका कारण निधन भएका ८० वर्षीय उनी दशकौंपछि भियतनामले पाएको सबैभन्दा शक्तिशाली नेता थिए । 

भियतनामका धेरै वरिष्ठ नेताहरूको अन्तिम विश्राम स्थल माई डिच कब्रिस्तानमा शुक्रबार अपराह्न ३ः०० बजे ट्रोङको अन्त्येष्टि गरिनेछ भने बिहीबारदेखि नै सवैसाधारणका लागि श्रद्धाञ्जलिका लागि राखिएको छ ।

सन् २०११ देखि पार्टीको नेतृत्व गर्दै आएका ट्रोङ सन् १९८६ मा देशको अर्थतन्त्रको उदारीकरणपछि लगातार तीन पटक पार्टीको नेतृत्व सम्हाल्ने पहिलो नेता हुन् । 

उनलाईँ पार्टी, प्रहरी, सशस्त्र बल र व्यवसायमा फैलिएको भ्रष्टाचार विरोधी उच्च प्रोफाईल अभियानका लागि भियतनामी जनताले सम्मान गर्ने गरेका छन् भने कतिपय विश्लेषकहरूले यसलाई राजनीतिक कलहसँग पनि जोडिएको बताउने गरेका छन् । 

मध्य हनोईस्थित राष्ट्रिय अन्त्येष्टि गृहमा नेताको ठूलो चित्र र दर्जनौं पदकमुनि झण्डा ढाकिएको ट्रोङकोे कफिन राखिएको छ भने कफिन वरपर पहेँलो फूलको गुच्छा र धूप बालिएको छ । 

कालो र सेतो हेडब्यान्ड लगाएका ट्रोङको परिवारले शोकसन्तप्त शुभचिन्तक तथा आपन्तजनहरूलाई अभिवादन गदैृ अन्त्येष्टिमा कुनै पनि परम्परागत नगद खाम वा फूलहरू नदिन अनुरोध गरेका छन् ।

शोक अवधिभर देशभरका सबै झण्डा आधा झुकेका छन् भने मनोरञ्जन र खेलकुदका कार्यक्रमस्थगित गरिएको छ ।

’महासचिवको निधनले पार्टी, राज्य, जनता र परिवारका लागि अपूरणीय क्षति भएको छ,’ पोलिटब्युरो सदस्य लुओङ कुओङले भने । 

ट्रोङको मृत्युको घोषणा हुनुभन्दा एक दिनअघि सत्ताको बागडोर सम्हालेका राष्ट्रपति तो लामसहित देशका शीर्ष पार्टी पदाधिकारीले उनप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

उनलाई श्रद्धाञ्जलि अर्पण गर्न हनोई पुगेका दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सो र क्युबाकासभामुख एस्टेबान लाजो हर्नान्डेजलगायत विदेशी अधिकारीसमेतले उनप्रति सम्मान व्यक्त गरेका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम र वासिङ्टनबीचको गहिरो सम्बन्धका हिमायतीको रूपमा ट्रोङको प्रशंसा गरेका थिए भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी ट्रोङलाई ‘रूसको साँचो मित्र’ को रूपमा प्रशंसा गरेका थिए । 

सिंगापुरको आइएसईएएस–युसोफ इशक इन्स्टिच्युटका सिनियर फेलो ले होङ हिपले भने, “ट्रोङको नेतृत्वमा भियतनामले सबै प्रमुख शक्तिराष्ट्रसँग सन्तुलित विदेश नीति कायम गर्न सफल भएको छ ।” 

“यसका कारण भियतनामले महत्वपूर्ण आर्थिक विकास हासिल गर्न सफल भएको छ र अब सन् २०३० सम्ममा उच्च मध्यम आय भएको अर्थतन्त्र बन्ने बाटोमा छ,” उनले एएफपीसँग भने ।

ट्रोङको खराब स्वास्थ्यका कारण सन् २०२६ को पार्टी महाधिवेशनसम्म उनी सत्तामा रहन नसक्ने अनुमान गरिएको थियो । उनको रोगको विवरण सार्वजनिक गरिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ