arrow

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुल्यो -उद्योग परिषद्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
deuja-parisang.jpg

काठमाडौँ । नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरू खोलेको बताएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव रामशरण देउजाले यस्तो बताए । उनले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पार्ने प्रभाव र सम्बोधन सकारात्मक हुनेमा आफूहरू विश्वस्त रहेको बताए । महासचिव देउजाले सङ्कटको डिलमा पुगिसकेको परिस्थिति गहन अध्ययन गरेर मौद्रिक नीति आएको बताए । 

उनले विदेशी ऋणहरू क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको पनि बताए । बजारमा पैसा पुर्‍याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै महासचिव देउजाले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्ने गरी मौद्रिक नीति आएको बताए । उनले मौद्रिक नीतिले व्यवसायीहरू बाहिर निस्किने वातावरण सिर्जना गरेको उल्लेख गरे । 

उनले भने, ‘विगत तीन-चार वर्षको कोभिड पछिको राम्रो मौद्रिक नीति आएको छ । संसार नै कोभिडबाट अछुतो रहन सकेन । नेपालमा यो ४ वर्षको आर्थिक आँकडालाई हेर्ने हो भने सङ्कटको डिलमा पुगिसकेको परिस्थिति थियो । केही सर्टेन सूचकले छैन त्यो परिस्थिति भन्ने पनि देखियो । तर निजी क्षेत्रको दृष्टिकोणले हेर्दा एकदमै असहज र सङ्कटपूर्ण परिस्थितिमा नेपालको आर्थिक अवस्था छ भन्ने कुरा बैङ्कहरूमा रहेको डिपाजिटलाई हेर्दा पनि क्लियर हुन्छ । बैंकमा यत्रो डिपोजिट छ, हामीसँग रोजगारी छैन । बजेट खर्च भइरहेको छैन । सरकारले भुक्तानी गर्न सकिरहेको छैन । विदेशी ऋणहरू क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गरेर हामीसँग भइरहेका रिसोर्सहरुलाई कुन ढङ्गले एउटा परिधिभित्र राखेर जाँदा सहज हुन्थ्यो होला भन्ने ढङ्गले राष्ट्र बैंकले बिस्तारै अध्ययन गरेर मौद्रिक नीतिमा यस्ता धेरै कुराहरू राखेको छ । यसले धेरै ढोकाहरू खोलेको छ । नेपाल सरकारको बजारमा पैसा पुर्‍याउने पहिलो माध्यम निर्माण क्षेत्र हो । यो अवस्था बन्द रहेको थियो । अब विभिन्न क्षेत्रमा सहजता प्रदान गरेको कारणले अब व्यवसायीहरू बाहिर निस्किने वातावरण सिर्जना गरेको छ । मौद्रिक नीति राम्रो आयो । यसले समग्र निजी क्षेत्रलाई अघि जाने, सुचारु हुने अवस्था सिर्जना गरेको छ । यो मौद्रिक नीतिले एउटा बिरामीलाई जसरी भेन्टिलेटर उपलब्ध भएपछि आफ्नो रोग रिकभर गर्दै जान्छ, त्यो अवसर यसले दिएको छ । सबै समस्या समाधान भएका होइनन्, अरू थुप्रै समस्या छन् । भुक्तानीकै समस्या छ । भुक्तानी भन्दा पनि पहिलो प्राथमिकता दिनुपर्ने क्षेत्र यो थियो । किनभने हामी बाहिर निस्किएर हिँड्न सक्ने परिस्थिति पनि थिएन । यति ठुलो सङ्कट निर्माण क्षेत्रमा अहिलेसम्म आएको थिएन ।’

उनले मौद्रिक नीतिले निर्माण व्यवसायीहरूले उठाएका धेरै मागहरू सम्बोधन गरेको बताए । राष्ट्र बैङ्कबाट जारी हुने निर्देशिकाहरूमा चनाखो हुनुपर्ने आवश्यकता रहेको बताउँदै यस्तै निर्देशिका आए निर्माण क्षेत्रमा भएको सङ्कुचन फुक्ने बताए । मौद्रिक नीतिको कार्यान्वयन हुनेमा आफूहरू विश्वस्त रहेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ