arrow

यसरी सर्वसम्मत अस्वीकृत भए निर्वाचन आयुक्तमा सिफारिस यौन शोषण आरोपी प्रधान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
pashupati-samsher-jabara-81.jpg

काठमाडौँ । कुकर्म लुकाएर लुक्दैन भन्ने चरितार्थ संसदीय सुनुवाइ समितिले सोमबार देखाइदिएको छ । समितिले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सर्वसम्मतिले अस्वीकृत गर्यो । 

सोमबार बसेको समितिको बैठकले प्रधान आफैँले उम्मेदवारी कायम राख्न नचाहेको भन्दै सर्वसम्मत रुपमा अस्वीकृत गर्ने निर्णय गरेको थियो । प्रस्तावित व्यक्ति स्वयंबाट नै आफ्नो उम्मेदवारी कायम नराख्न समितिमा निवेदन दिएपछि अस्वीकृत गरिएको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।

तर पटक पटक आलोचित हुँदासमेत पछि नहटेका प्रधान आफ्नो नाम अनुमोदन नहुने निश्चित भएपछि आफैँले सोमबार समितिमा नाम फिर्ता लिने भन्दै निवेदन दिएका थिए । उनले समितिलाई पत्र दिएर आफू प्रक्रियाबाट अलग भएको जानकारी गराएका थिए ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोधसमेत भएको थियो । नाम फिर्ताको तयारीका कारण सोमबार बिहान ११ बजेका लागि तय भएको सुनुवाइ समितिको बैठक साँझ ५ बजेका लागि सारिएको थियो । 

योसँगै प्रधान अब सरकारले नियुक्त गर्ने कुनै पनि संवैधानिक निकायका लागि लायक छैनन् भन्ने नजिर बसेको छ । 

प्रश्न यहाँनेर खडा हुन्छ कि यौन शोषण जस्तो गम्भीर आरोप लागेपछि उनीमाथि कानूनी कारबाही के हुन्छ ? 



नयाँ