विश्वबन्धु र सुधीर बस्नेतसँग सहकारी छानबिन समितिले गर्यो छलफल
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
777
Shares
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्वबन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतसँग छलफल गरेको छ ।
बुधबार समितिले थापा र बस्नेतसँग छुट्टा—छुट्टै छलफल गरेको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले अभियन्ता थापाले २०१७ सालमा जुन उद्देश्यले सहकारीको अभियान थालनी भएको थियो, सो अनुसार चल्न नसक्दा अहिले समस्या आएको समितिलाई जानकारी दिएको बताए ।
छलफलमा मान्छे असल भए संस्था बलियो हुने र अघि बढ्ने तथा खराब व्यक्ति भए राम्रो गर्न सम्भव नरहेको बताएको पनि सभापति थापाले जानकारी दिए । सभापति थापाले त्यो बेलामा साझा केन्द्रको अवधारणा पञ्चायतलाई राजनीतिक परिपाटीका रूपमा र साझालाई आर्थिक प्रणालीका रूपमा अगाडि बढाएको समितिलाई जानकारी दिएको उल्लेख गरे ।
उनले त्यो बेलाको साझा केन्द्रमा पनि सरकार परिवर्तन हुने बित्तिकै अध्यक्ष र प्रबन्धक परिवर्तन हुने भएकाले राम्रोसँग अघि बढ्न नसकेको बताएको उल्लेख गरे । थापाले राजनीतिक र सहकारी सञ्चालनको लागि असल व्यक्ति चाहिने बताएको जानकारी सभापति थापाले दिए ।