arrow

एक सय ६२ बोरा चिनी ट्रकसहित बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
illegal-goods-india-nepal.jpg

भैरहवा । भैरहवा भन्सार कार्यालयले राजस्व लक्ष्य प्राप्त गर्न नसके पनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ । भन्सारको कामसँगै तस्करी नियन्त्रणमा उत्रेको भन्सारले सूचनाको आधारमा उल्लेख्य मात्रामा अवैध सामान बरामद गर्दै आएको छ । विशेष सूचनालाई आधार बनाई कार्यालय प्रमुख नारद गौतम सहितको टोली सक्रिय रुपमा निगरानी बढाउदै अवैध बस्तु धमाधम नियन्त्रणमा लिइरहेको छ । 

शुक्रबार बिहान ११ बजेको समयमा भन्सारकै नेतृत्वमा रुपन्देहीको सिद्धार्थनगर ८ लुम्बिनी रोड यादव चोकको भित्र बाट १६२ बोरा चिनी बरामद गरेको छ । नेपाली चिनीको बोरामा प्याक गरी गोदामबाट ट्रकमा लोड गरेको अवस्थामा ५० किलो परिमाणको १६५ बोरा अर्थात् ८ हजार एक सय किलो चिनी बरामद गरिएको हो । ट्रकमा लोड गरिएको चिनीको साथमा इलेक्ट्रीक तराजु, र महोत्तरीमा रहेको सुगर मिलको २०० वटा खाली बोरा समेत बरामद गरिएको छ । जस्को मुल्य करिब ११ लाख रहेको छ । 

असारको २७ गते पनि भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र केराउ मटर भन्सार कार्यालयले बरामद गरेको थियो । अवैध रुपमा भित्रिएको गल्लामण्डीको सुगर मिल क्षेत्रबाट ट्रकमा लोड गरिरहेको अवस्थामा ५ लाख ७४ हजार रुपैयाँ बराबरको एक सय तीस बोरा (६५०० किलो) चिनी र ६८ बोरा (१७०० किलो) केराउ मटर बरामद गरिएको थियो । 

भैरहवा भन्सार कार्यालयले पछिल्लो एक वर्षमा नेपाल भित्रिएको करोडौ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । यस अघि गत जेठ २९ मा भैरहवा भन्सार कार्यालयले लु १ च ४७९२ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिई अवैधरुपमा भित्र्याइएको १७ लाख बढीको बेल्ट, ब्रा र मोजा बरामद गरेको थिया, गाडी जफत गरि चालक अब्दुल अन्सारी अहिले थुनामा छन् । 

यस्तै भन्सारले जेठ १ गते २४ टन अवैध प्याजसहित ना ५ ख ५२७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । ९ लाख ६० हजार बराबरको उक्त प्याज र १२ लाख ट्रकको मूल्य कायम गरेर जफत गरिएकोमा थियो । 

असार ३१ गते भैरहवाको बुद्धचोकबाट कार्यालयको गस्ती टोलीले आठ लाख ६० हजार बराबरको धुलो सुर्ति २८० केजी, कलासिक चुरोट १०१ प्याकेट, कुल लिप समेतको तयारी सुर्ति १०८५ प्याकेट भण्डारण गरिरहेको अवस्थामा बरामद गरेको थियो । 

पछिल्लो समय सेवाप्रबाहसँगै भन्सारको टिम तस्करी निणन्त्रणमा सक्रिए देखिएको छ । रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । ‘हामीले जसरी हुन्छ अवैध निकासी–पैठारी रोक्ने भनेर काम गरिरहेका छौं, यसका लागि हाम्रो संयन्त्र परिचालन गरेका छौं, विभिन्न ठाउँबाट आउने सूचनाहरुलाई ‘क्विक रेस्पोन्स’ गर्ने गरिरहेका छौं’, भन्सार प्रमुख गौतमले भने ।

कार्यालयले अभियान नै चलाएर तीव्र रूपमा भन्सार छलेर भित्राइएका सामग्रीहरू नियन्त्रण लिइरहेको छ । भन्सार छलेर निर्यात गर्न लागिएको र आयात गरिएको अवस्थामा प्रयोग भएको गाडी तथा मानिससहित सामग्रीहरू नियन्त्रणमा लिने क्रम बढेको छ । गौतमले भन्सार प्रमुख भएर आएको छ नौ महिनामा भन्सार छली गरी अवैध बाटोबाट भित्र्याइएको र भारततर्फ लैजान लागिएको करिब ४ करोडको सामान बरामद भएको छ । ‘अवैध सामान ओसारपसारमा प्रयोग भएका ट्रक, मिनी ट्रक, पिकअप र कार गरी करिब २ दर्जन ढुवानीका साधन नियन्त्रणमा लिइएको छ । मोटरसाइकल र स्कुटर पनि जफत भएका छन’, उनले भने, ‘यीमध्ये जफत गरिएका ढुवानीका साधनबाट २ करोड रुपैयाँ राज्यकोषमा जम्मा भएको छ ।’

भन्सारले सीमा क्षेत्रमा निगरानी बढाउँदा यो सफलता हात लागेको हो । सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको छ । अवैध पैठारीमा संलग्न ७ जना थुनामा छन् भने पाँचजना फरार छन् । केही धरौटीमा छुटेका छन् । आर्थिक वर्ष २०८०–०८१ मा भन्सारले आफ्नै सक्रियतामा ६० बढी मुद्दा दर्ता गरेको छ ।

भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौंका सामान बरामद गरेका छन् । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले साइकलमा भन्सार छलेर थोरै–थोरै परिमाणमा चिनी, मटर लगायत सामग्री भित्राएर डम्प गर्ने गर्दछन् । परिमाण धेरै भएपछि नक्कली बीजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्ने गरेका छन् ।

तस्करहरुले त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली लगायतका नाकाबाट मर्चवार हुँदै बनगाईसम्म अवैध सामान ल्याउने गरेका छन् । यस्तै सेमरपानी, मैनिहवा, भगवानपुर, बुची वरवा, पिपरहवा धकधई हुदै हुलाकी राजमार्ग सम्म तस्करीका सामान आउने गरेका छन् । भन्सारकै पछाडि  मेउडिहवा, नौडिहवा, फरेनिया ,भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर लगायतका नाकाबाट पनि साइकल मोटरसाइकल र गाडीमै पनि तस्करी भइरहेका छन् ।

मुख्य नाकामा चेकजाँच कडाई गरे पनि रुपन्देहीका यि भित्री नाकातर्फ तस्करहरु सक्रिय भएका छन् । सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ ।

सुरक्षा घेरा हुँदा हुँदै पनि तस्करका सामान निर्वाध भित्रिरहनु सुरक्षा निकायमाथि नै प्रश्न चिन्ह छ । विभिन्न चौकी र चेकपोस्ट पार गरि बजारमा आएर अवैध सामान बरामद हुनु भनेको संलग्नता छ कि? भन्ने पनि छ  । तस्करी रोक्नकै लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार गस्ती टोलीको ठूलो जनशक्ति परिचालन भएपनि तस्करहरु विभिन्न नाकाबाट अझै पनि तस्करी गरिरहेका छन्, सिमति स्रोत साधन र जनशक्ति भएको भन्सारले निरन्तर यस्ता अवैध बस्तु नियन्त्रण गरिरहेकै छ ।

पछिल्लो समय दैनिक उपभोग्य बस्तु, कपडा मात्रै होइन हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेका छन । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन् । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रुपमा नै टयाक्टर पिकअपबाट शहरहरुमा पठाउने गरेका छन् । चौकीको अगाडिबाट नै तस्करीका सामानहरु निर्धक्क साथ जाने गरेको छ । खुला सीमाबाट जे जस्तो अवस्थामा ल्याए पनि ती सामानहरु प्रहरी पोस्टकै अगाडिबाट जाँदासमेत प्रहरीले वास्ता नगर्नु प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ