arrow

सबैभन्दा लामो मच्छिन्द्रनाथको रथजात्रामा भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
bhoto-jatra-showing-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो जात्रा आज मनाइँदै छ । 

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ ।

भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउनुपर्ने परम्परा छ ।

छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ ।यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ ।

करिब १६ सय वर्षअघि शुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ । विसं ५४६ देखि सुरु भएको मानिएको 
मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।

हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् ।

जात्राको यसबाहेक अन्य किंवदन्ती पनि छन्। पहिलो किंवदन्ती अनुसार नागराज कर्कोटककी रानी आँखा नदेख्ने रोगले पीडित भइन् । उनको उपचारका लागि वैद्यको खोजीमा कर्कोटक आफैँ निस्किए भनिन्छ । 

दोस्रो किंवदन्ती अनुसार कुनै समय किसान र ती व्यक्तिका बीच भोटोको स्वामित्वका विषयमा विवाद शुरु भएको थियो । तेस्रो किंवदन्ती अनुसार राजा वरदेवको शासनकालमा अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याइएको बताइएको छ ।

सरकारले भोटो देखाउने जात्राको दिन आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । 



नयाँ