- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दुई वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण प्रकाशित गरेका छन् । सिटिजन्स बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सो आर्थिक वर्षको लेखापरीक्षण नगरिएको वित्तीय विवरण प्रकाशित गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र यस्तो विवरण प्रकाशित गरिसक्नुपर्छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको यो वर्षको रिपोर्ट कस्तो आउला भन्ने चासो छ ।
कस्तो छ बैंकहरुको वित्तीय विवरण ?
बैंकहरुको वित्तीय विवरणको अवस्थाको विश्लेषण गर्नुअघि दुई बैंकको छुट्टाछुट्टै अवस्थाको बारेमा हेरौँ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले यो गत आर्थिक वर्षमा १ अर्ब ३४ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ८६ करोड रुपैयाँ बराबरको खुद नाफा गरेको बैंकले यो अवधिमा नाफा झण्डै २८ प्रतिशतले घटेको हो । बैंकले कमाएको यो नाफा प्रतिशेयर ९.४५ प्रतिशत बराबर हो ।
यसरी नाफा घट्नुमा खुद ब्याज आम्दानी घट्नु र इम्पेरिमेन्ट चार्ज बढ्नु मुख्य कारणको रुपमा देखिएको छ । यो वर्ष बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी घटे पनि बैंकले कमिसन शुल्कहरुमा भने उल्लेख्य प्रगति गरेको छ । खुद कमिसन तथा शुल्क आम्दानी अघिल्लो वर्ष ८७ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । व्यापारमूलक गतिविधिबाट हुने आम्दानी भने यो वर्ष घटेको छ ।
बैंकले यो वर्ष इम्पेरिमेन्ट चार्जबापत १ अर्ब ७६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । अघिल्लो वर्ष यो १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । नउठेको कर्जाबापत गरिने उक्त प्रोभिजनका कारण बैंकको नाफा घटेको देखिएको हो । यो वर्ष बैंकको कर्मचारी खर्च सामान्य बढ्दा सञ्चालन खर्च र ह्रासकट्टी खर्च बढेको छ ।
बैंकले कमाएको यो नाफामध्ये यो वर्ष ६१ करोड ६१ लाख रुपैयाँ बराबरको रकम वितरणयोग्य देखिएको छ । बैंकको १४ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजीका आधारमा यो भनेको प्रतिशेयर ४.३४ प्रतिशत बराबर हुन आउँछ ।
बैंकसँग रिजर्भमा ६ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यो समेतका आधारमा यो अवधिमा बैंकको पूँजीकोष अनुपात १३.१३ प्रतिशत बराबर हुन आउँछ । यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.०७ प्रतिशत, कस्ट अफ फण्ड ६.३२ प्रतिशत र आधारदर ८.६२ प्रतिशत रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंक ३ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३ अर्ब ४६ करोडको खुद नाफा रहेकोमा यो वर्ष नाफा ४.६२ प्रतिशतले घटेको हो ।
यो वर्ष बैंकको खुद व्याज आम्दानी घट्दा नाफामा नकारात्मक असर देखिएको छ । अघिल्लो वर्ष ५ अर्ब ९५ करोड रहेको खुद ब्याज आम्दानी यो वर्ष ५ अर्ब १५ करोड रुपैयाँमा झरेको हो ।
अन्य शुल्क तथा आम्दानी भने यो वर्ष बढेको छ । यो शीर्षकमा अघिल्लो वर्ष १ अर्ब २८ करोड रुपैयाँ बराबरको आम्दानी रहेकोमा यो वर्ष बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो । व्यापारमूलक आम्दानी पनि यो वर्ष सामान्य बढेको छ ।
यो वर्ष बैंकको इम्पेरिमेन्ट चार्ज भने घटेको छ । अघिल्लो वर्ष यो शीर्षकमा ५९ करोड रुपैयाँ छुट्याएको बैंकले यो वर्ष २१ करोड मात्रै छुट्याएको हो । करिब ३८ करोड रुपैयाँ पोजेटिभ हुँदा पनि व्यवसाय विस्तार हुन नसक्दा नाफामा सुधार हुन नसकेको हो ।
यो वर्ष बैंकले खर्च नियन्त्रणमा उल्लेख्य प्रगति गरेको छ । बैंकको कर्मचारी खर्च, सञ्चालन खर्च र ह्रासकट्टी लगायत सबै खर्चहरु घटेका छन् ।
बैंकले यो वर्ष कमाएको नाफामध्ये २ अर्ब ४९ करोड रुपैयाँ शेयरधनीहरुलाई बाँड्न मिल्ने देखिएको छ । बैंकको हाल रहेको ९ अर्ब ४२ करोड रुपैयाँको चुक्तापूँजीको आधारमा यो प्रतिशेयर २६.५० प्रतिशत बराबर हुन आउँछ ।
बैंकको निष्क्रिय कर्जा अनुपात २.१४ प्रतिशत,पूँजीकोष अनुपात १७.१६ प्रतिशत, कस्ट अफ फण्ड ३.८४ प्रतिशत र आधारदर ६.६० प्रतिशत रहेको छ ।
असार मसान्तसम्म १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब कर्जा प्रवाह गरेको बैंकको रिटेन्र्ड अर्निङमा २ अर्ब ४९ करोड र रिजर्भमा ८ अबए ८६ करोड रहेका कारणपूँजीकोष अनुपात निकै खुकुलो देखिएको छ ।
कस्तो देखियो समग्र अवस्था
बैंकको सबैभन्दा मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी यो वर्ष दुवै बैंकको घटेको देखिएको छ । अन्य आम्दानीको रुपमा रहने शुल्क तथा कमिसन आम्दानी तथा व्यापारमुलक आम्दानीमा भने दुई बैंकको अवस्था फरक देखिएको छ ।
निष्क्रिय कर्जाको आम्दानीमा राष्ट्र बैंकको सहुलियतका बाबजुद यो वर्ष दुवै बैंकहरुको निष्क्रिय कर्जा उल्लेख्य बढेको देखिन्छ । उता उठ्न बाँकी ब्याजका लागि गरिने रिगुलेटरी प्रोभिजन धेरै हुँदा सिटिजन्स बैंकको वितरणयोग्य नाफा कमजोर देखिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक कम चुक्तापूँजी र उठ्न बाँकी ब्याज कम भएको फाइदा उठाएको देखिन्छ ।
यद्यपि दुई बैंकको अवस्थाले बैंकहरुको समग्र अवस्थालाई भने राम्रो संकेत गरेको छैन । असल कर्जाको प्रोभिजनिङ घटाउने, निर्माण व्यवसायी लगायतको ऋणलाई असल कर्जाको रुपमा व्याख्या गर्ने लगायत कयौँ सहुलियत भए पनि यसले बैंकहरुको वित्तीय विवरणमा उल्लेख्य सुधार हुन नसकेको देखिएको हो ।