arrow

लक्ष्मी सनराइज बैंकको नाफा ३२ प्रतिशत बढ्यो, कति छ लाभांश दिने क्षमता ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
laxmi-sunrise-bank-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफा झण्डै करिब ३३ प्रतिशतले बढेको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरणको आधारमा यस्तो नाफा वृद्धि ३२.७८ प्रतिशत देखिएको हो । 

अघिल्लो वर्ष बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेकोमा यो वर्ष यस्तो नाफा ३ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । बैंकको हाल रहेको २३ अर्ब १८ करोड चुक्ता पूँजीको आधारमा यो नाफा प्रतिशेयर १३.०९ प्रतिशत हो । 

यसरी नाफा बढ्नुमा बैंकको आम्दानी बढ्नु नै मुख्य कारण देखिएको छ । यो अवधिमा बैंकले खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन सम्बन्धी आम्दानी, व्यापारमूलक आम्दानी बढाएको छ । 

अघिल्लो वर्ष ५ अर्ब ६८ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष ११ अर्ब ५९ करोड आम्दानी गरेको छ । त्यस्तै शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्ष ९८ करोड रहेकोमा यो वर्ष १ अर्ब ९१ करोड रहेको देखिन्छ । 

बैंकको कर्मचारी सञ्चालन खर्च पनि यो वर्ष ह्वात्तै बढेको छ । अघिल्लो वर्ष १ अर्ब ८८ करोड रहेको कर्मचारी खर्च बढेर ४ अर्ब २५ करोड पुगेको छ । त्यस्तै, अघिल्लो वर्ष ८२ करोड रहेको सञ्चालन खर्च बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

नाफामा उल्लेख्य सुधार भए हुँदा बैंकको वितरणयोग्य नाफा १ अर्ब २८ करोड रुपैयाँ बराबर रहेको छ । अघिल्लो वर्ष यो रकम ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । यो भनेको प्रतिशेयर ५.५५ प्रतिशत बराबर हो । 

वर्षको अन्त्यमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.७२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष २.९१ प्रतिशत थियो । त्यस्तै, पूँजीकोष अनुपात १३.११ प्रतिशत, कस्ट अफ फण्ड ६.११ प्रतिशत, बेसरेट ८.५२ प्रतिशत र ब्याजको स्प्रेडदर ४ प्रतिशत रहेको देखिन्छ । 

बैंकले यो अवधिमा ३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष निक्षेप र कर्जाको रकम क्रमशः २ खर्ब ९६ अर्ब र २ खर्ब ४७ अर्ब रुपैयाँ थियो । 

अहिले बैंकको रिजर्भ कोषमा १६ अर्ब २८ करोड रुपैयाँ रहेको छ । यो रिजर्भ चुक्ता पूँजी तथा रिटेन्ड अर्निङ समेतको आधारमा बैंकको प्रतिशेयर नेटवर्थ १७५.८० रुपैयाँ रहेको देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ