- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मलेखु । भारतको दार्जलिङ घर भई हाल धादिङको गल्छी गाउँपालिका-६ मा बस्दै आएका ४९ वर्षीय प्रकाश मगरले गर्भवती श्रीमतीको हत्या गरेका छन् ।
श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गल्छी गाउँपालिका-६ महेशदोभानमा बस्दै आएकी निशालाई उनकै श्रीमानले पेटमा निर्घात कुटपिट गर्दा बच्चा नै बाहिर निस्केको र उनको मृत्यु भएको हो ।
निशा र प्रकाश गल्छी गाउँपालिका-६ खैरेनी महेशदोभान क्षेत्रमा मजदुरी गरी अस्थायी बसोबास गर्दै आएका थिए ।
साउन १८ गते राति हत्या गरिएको अवस्थामा निशाको शव फेला परेपछि अनुसन्धानको क्रममा उनकै श्रीमान् प्रकाश मगरलाई प्रहरीले साउन २० गते पक्राउ गरी अनुसन्धान गरेको थियो ।
निशाको हत्या प्रकाशले नै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साउन २२ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मिश्रले जानकारी दिए ।
पटकपटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेको आरोपितले केही समय ढुङ्गानाटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राति महेश दोभानमा आएर श्रीमतीको हत्या गरेको छिमेकीहरूले आशङ्का गरेका छन् ।
निशाको शव परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाएको छ ।