arrow

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्ती मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
SUSHIL-KOIRALA_201104180955001.jpg.jpeg

काठमाडौँ । तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १९९७ साउन २८ गते जन्मिएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

फलःस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भयो । उनले सधैँ सत्यको वकालतका साथै सादगी जीवनयापन गरे ।जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहे ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ । राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण छ ।

स्वर्गीय नेता कोइरालाको स्मरणमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरिनेछ । संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले बताए ।

विसं २०७३ मा स्थापित फाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, कला, संस्कृति, मानवाधिकार, महिला तथा बालबालिकालगायत सामाजिक लोककल्याणकारी क्षेत्रमा ‘थिङ्कट्याङ्क’का रूपमा कार्य गर्दै आएको छ । स्वर्गीय कोइरालाले जीवनमा पुर्याएको योगदानको सम्झनामा फाउण्डेसनले विभिन्न रचनात्मक कार्यक्रमसमेत गर्दै आएको छ । 

फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले आजको युगमा कोइरालाजस्ता इमान्दारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको बताए । फाउण्डेसनको संरक्षकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ