arrow

कुलमानको गुनासो- लोडसेडिङ हुँदा खुशी हुने जमातले मेरो विरोध गरे [भिडियो]

पछिल्लो ८ वर्षमा २५ प्रतिशत विद्युत् महसुल घटाएका छौं

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
kulmang-ghising-04-31.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल लोडसेडिङ हुँदा खुशी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बाल्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमात धेरै रहेको बताए । 

उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय विरोध गर्दै गलत सूचना फैलाइरहेको बताए । उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गरेको बताए । उनले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाब पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताए । 

उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । उनले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्याङ्कका आधारमा नभएको दाबी गरे । उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत् महसुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद भएको उल्लेख गरे । उनले २५ अर्बको विद्युत् महसुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गरे । 

उनले विद्युत् महसुल बढाएर नभई घटाएर नाफामा गएको पनि बताए । उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको शोधभर्ना समेत नगरेको बताए । उनले यो वर्ष २५ अर्बको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत् आयात भन्दा विद्युत् निर्यात बढी गरेको बताए । 

उनले भने,‘विद्युत् प्राधिकरणको फाइनान्सियल स्वस्थ र स्टेटमेन्टहरू फेक हो । गलत हो भनेर जिम्मेवार पदाधिकारीहरूले भन्ने गरेका छन् । जिम्मेवार ठाउँहरूमा भन्ने गरिएको छ । नेपाल विद्युत् प्राधिकरण सरकारको एउटा ठूलो संस्था हो । महालेखापरीक्षकले खटाएर तीन वडा अडिट संस्थाहरूले फाइनल गरेको हिसाब कसरी फेक हुनसक्छ । नेपाल विद्युत् प्राधिकरण नाफामा जानु कसैलाई दुःख लाग्छ । विद्युत् प्राधिकरण घाटामा जाँदा खुशी लाग्छ । नेपालमा प्राधिकरणले लोडसेडिङ बढाउँदा खुशी लाग्ने जमात ठूलो छ । त्यो जमातले यस्ता नचाहिने विषयहरूलाई पनि धेरै फैलाएको सुनेको छु । प्राधिकरणको जुन आर्थिक परिसूचकहरू छ । त्यो पारदर्शी छ । प्राधिकरणको आगामी दिन राम्रो छ । पछिल्लो ८ वर्षमा २५ प्रतिशत विद्युत् महसुल घटाएका छौं । २५ अर्बको विद्युत् महसुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको सानो विषय होइन । विद्युत् महसुल बढाएर होइन घटाएर नाफामा गएका छौं । सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट पनि दिएको छ । तर त्यो सरकारको अर्थ मन्त्रालयले शोधभर्ना गरेको छैन । यो वर्ष २५ अर्बको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेका छौं । नेपालले विद्युत् आयात भन्दा विद्युत् निर्यात बढी गरेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ