arrow

कारागार पुगेपछि सहकारी ठगहरूको होश खुल्दै, सम्पत्ति बेचेर पीडितको रकम तिर्न तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
Sahakari-Logo-1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारीको रकम अपचलन गरी कारागारमा रहेका आरोपीहरु सम्पत्ति बेचेर पीडितको रकम तिर्न तयार रहेको बताएका छन् । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले जेलमा रहेका आरोपीहरुसँग बयान लिने क्रममा यस्तो बताएका हुन् ।

देशका विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका ११ जना सहकारी सञ्चालकलाई सिंहदरबारमै झिकाएर बयान लिने क्रममा उनीहरुले सहकारीमा रहेको सम्पत्ति र व्यक्तिको नाममा रहेको सम्पत्ति बेचेर पीडितहरुको बचत फिर्ता गर्ने वातावरण बनाइदिन माग गरेका छन् । 

सहकारीको बचत रकम दुरुपयोगमा मुछिएका अध्यक्ष, पदाधिकारी र सञ्चालकहरूसँग २६ साउनदेखि समितिले बयान लिइरहेको छ । 

यस क्रममा जेल बाहिर रहेका र जेल परेकाहरुको समेत बयान लिदा कोभिड संक्रमण र आर्थिक मन्दीका कारण सहकारी संस्थाहरु धरासायी भएको र बचत रकम फिर्ता गर्न नसकिएको बताएका थिए ।

समितिले गृह मन्त्रालयको सहयोगमा बन्दीहरुलाई कारागारबाट सिंहदरबार ल्याई बयान लिइएको थियो । 

समिति सभापति सूर्य थापाका अनुसार साउन २६ देखि समितिले बयान लिन शुरु गरेको हो, यो क्रम  अझै जारी रहेनछ ।

‘हामीले सहकारीको सम्बन्धमा छानबिन गरिरहेका छौँ, बचत फिर्ता गर्न नसकेका र डुबेका भनिएका सहकारीका सञ्चालकहरुसँग छलफल र बयान लिइरहेका छौँ’, सभापति थापाले भने ।

छानबिन समितिको कार्यविधिअनुसार पहिलो बयान नख्खु कारागारमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग समितिले लिएको छ ।  

समितिले बिहीबार बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीकी क्यासियर रोशनी गुरुङ एक जनासँग मात्र बयान लिइएको थियो । 

त्यस्तै समितिले बुधबार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी पूर्वअध्यक्ष कल्पनाकुमारीसँग सोधपुछ गरेको थियो । बुधबार नै बलिदानी बचत तथा ऋण सहकारीका अजय श्रेष्ठ, प्राइम बचत तथा ऋण सहकारीका शंकर कार्की र मित्र मिलन सहकारीका रमण पौडेलसँग बयान लिएको थियो । 

उनीहरुले सञ्चालकलाई जेल हालेर बचतकर्ताको रकम फिर्ता गर्न नसकिने बरु रकम फिर्ताका लागि जग्गा जमीन र सम्पत्ति बिक्री गर्ने वातावरण बनाउनु पर्ने जिकिर गरेका थिए ।

संसदीय छानबिन समितिले केदारनाथ शर्माकी श्रीमती गीता शर्मालाई पनि कारागारबाटै सिंहदरबारमा झिकाएर बयान लिएको छ । 

शर्माकी श्रीमती गीता शर्मालाई केन्द्रीय कारागार, जगन्नाथ देवलबाट सिंहदरबारमा ल्याएर सोधपुछ गरिएको हो । 

छानबिन समितिले २६ साउनमै नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बासँग बयान लिएको थियो । 

उनलाई नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको हो । गत शनिबार पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङसँग बयान लिएको थियो । 

समितिले २८ साउनमै कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीसँग पनि बयान लिएको थियो । 

उनलाई डिल्लीबजार कारागारबाट समितिको बैठकमा ल्याएर बयान लिएको हो । साउन २८ गते समितिले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष एवं पूर्व सांसद इच्छाराज तामाङलाई सिंहदरबारमा बयान लिएको थियो । 

साउन २८ गते समितिले आइडिया यमूना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी) सँग बयान लिएको थियो । 

साउन २९ मा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेललाई लिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ