arrow

पोखरामा अन्तर्राष्ट्रिय उडान हुनेमा निश्चिन्त : श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
pom-narayan-shrestha.jpg

पोखरा । पोखरा पर्यटन परिषद्ले नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिनेलगायत निर्णय गरेका स्वागत गरेको छ ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मन्त्रिपरिषद्को निणर्यको स्वागत गर्दै विमानस्थल सञ्चालन सम्बन्धमा दुई वर्षसम्म गरेको मागको सुनुवाइ भएकामा खुसी व्यक्त गरे ।

मन्त्रिपरिषद्ले गरेका निर्णय छिटोभन्दा छिटो कार्यान्वयनका लागि सरकारसँग उनले माग गरे । सरकारको यो निर्णयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनेमा आफूहरु निश्चिन्त रहेको उनले स्पष्ट पारे ।

पोखराबाट उडान भर्ने हवाई कम्पनीले पाउने उक्त सुविधाबाट यात्रुलाई सुलभ दरमा यात्रा गर्ने मौका मिल्ने र यसले विमानस्थलको आकर्षण बढाउने उनको विश्वास छ ।

अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय उडान भएमा पोखराका उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवेशको ढोका खुल्ने दावी गरे ।

उनले परिषद्को वर्तमान कार्यसमितिले यस सम्बन्धमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सम्बद्ध निकायसँग पटकपटक छलफल तथा ज्ञापनपत्र बुझाएको स्मरण गरे ।

परिषद्ले अन्तर्राष्ट्रिय उडानका लागि अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग पहल, भारतीय टुर अपरेटर, फिल्म स्टार, राजनीतिज्ञ तथा पत्रकारसँग पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा र प्रसारप्रसार गरिएको जनाएको छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सदस्यका रूपमा पोखरा मुग्लिन सडकको स्तरोन्नतिको ढिलाइ सम्बन्धमा सरोकार भएकासँग छलफल एवं अवलोकन भ्रमण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

परिषद्का्े आयोजनामा ‘पहिला घरदेश अनि परदेश’ साङ्गीतिक कार्यक्रम, गल्फ एण्ड वियोन्ड कार्यक्रम, पाटा एडभान्चर मार्टमा सहकार्य, पर्यटन ऐनलाई व्यवसायमैत्री बनाउन र यातायात क्षेत्रमा सेवा प्रदायकको सुविधाका लागि सरकारले दिनुपर्ने सहुलियतका विषयमा ऐेनमा नै सुधार गर्न पहल गरिएको पनि जनाइएको छ ।

परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन र विकासका लागि आफूहरूले निरन्तर प्रयास गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ