arrow

देशभर मनसुनी वायुको प्रभाव, सिमरामा सबैभन्दा बढी वर्षा, पोखरा पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
raining-rupendehi-sainamain.jpg
तस्बिर – रुपन्देहीको सैनामैनामा भारी वर्षाले डुबान ।

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जसका कारण मुलुकका धेरैजसो स्थानमा वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । 

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सिमरामा १४९ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा १२७.१ मिलिमिटर वर्षा भएको छ । 

धनगढीमा ७५.४ मिलिमिटर वर्षा हुँदा धनकुटामा ३६.२ तथा काठमाडौँमा २६ मिलिमिटर वर्षा भएको छ । 

काठमाडौँमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ । नदी नाला पनि बढेका छन् । 

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम रहेकाले सम्भावित क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

वर्षापछिको पहिरो र बाढीमा परी अहिलेसम्म १९३ जनाको मृत्यु भइसकेको छ भने ४९ अझै बेपत्ता छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ