arrow

कानूनले थाहा छैन भनेर उम्कन देला ? 

सहकारीबारे ५० जनासँग बयान, रविलाई लाग्यो कांग्रेस–एमालेले फसाउन खोजे

लाखौँले जम्मा गरेको रकमबारे लामिछाने केही पनि थाहा नपाएको बताएर संसदीय छानबिन समितिबाट उम्किने कोसिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
ravi-sahakari-chanbin-samit.jpg

काठमाडौँ । सहकारी ठगी सम्बन्धी बनेको संसदीय छानबिन समितिलाई ९ घण्टा बयान दिएर चितवन पुगेका रवि लामिछानले आफूलाई एमाले र कांग्रेस मिलेर दुःख दिएको आरोप लगाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट एक पैसा पनि आफूले नलिएको दाबी गर्दै शनिबार दिउँसो चितवन पुगेपछि त्यस्तो आरोप लगाएका हुन् । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०७७ साल चैत १८ मा लामिछानेको नाममा २ करोडको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा सोही मिति (३१ मार्च २०२१) मा उक्त रकममध्ये १ करोड ९६ लाख रकम जम्मा भएको विषय पनि उनले थाहा नपाएको बताउँदै उम्किने कोसिस गरेर चितवन पुगेपछि कांग्रेस–एमाले मिलेर फसाउन खोजेको आरोप लगाएका हुन् । 

सोही मितिमा उनले गोर्खा मिडिया नेटवर्क प्रालिको १,८०,००० कित्ता शेयर लिएको विषयमा पनि आफूले गुडविल शेयर पाएको दाबी गरेर उम्किने कोसिस गरेका छन् । 

देशभरका लाखौँ जनताले आफूले खाइनखाइ जम्मा गरेको रकममा मस्ती गरेका लामिछानेले केही पनि थाहा नपाएको बताएर संसदीय छानबिन समितिबाट उम्किने कोसिस गरेका हुन् ।
 
सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले लिएको बयानमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको भन्दै जीबी राईको टाउकोमा दोष थुपारेर समितिबाट बाहिरिएका थिए । र सहकारीबाट आएको रकमको कानूनी दायित्य आफूमा नरहेको दाबी गरेका थिए ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक र शेयर होल्डरको मुख्य जिम्मेवारीमा रहेको हैसियतमा बयानका लागि बोलाएको थियो । 

तर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा आफूले ‘स्वेट शेयर’ मात्रै पाएको बताएर त्यसको जिम्मेवारी आफू नभएको भन्दै सहजै बाहिरिन खोजेका छन् । 

लामिछानेले गोरखा मिडिया नेटवर्टको सम्पूर्ण आर्थिक कारोबार र खर्चको स्रोत व्यवस्थापन गर्ने काम सबै अध्यक्ष जीबी राईले नै गरेकाले आफूलाई केही थाहा नभएको इन्कारी बयान दिएका छन् ।

९ घण्टाभन्दा बढी बयान दिएका लामिछानेले सहकारीको एक पैसा पनि आफ्नो पेटमा नपरेको दाबी गरेका थिए ।

 ‘सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन, मैले कुनै पनि सहकारीबाट एक पैसा पनि लिएको छैन,’ उनले भनेका छन् ।  लामिछानेले गोरखा मिडियाका अध्यक्ष राईको सहकारीमा संलग्नता थियो भन्ने विषय टेलिभिजन छाडेको महिनौँपछि मात्रै आफूले थाहा पाएको भन्दै कुनै पनि कुरा आफूलाई जानकारी नभएको बताउँदै जनतालाईसमेत झुक्याएका छन् ।

 ‘जीबी राईको यति धेरै सहकारीमा संलग्नता थियो भन्ने कुरा टेलिभिजन छाडेको महिनौँपछि मात्रै मैले थाहा पाएको हुँ । शुरुमा नेचर हबजस्ता कम्पनी छन् भन्नेचाहिँ थाहा थियो’, उनले बयानमा भनेका छन्, ‘अथाह सम्पत्तिको मालिक भएकाले राईले जहाँबाट पनि पैसा ल्याउन सक्छन् भन्ने मात्र मलाई थाहा थियो ।’

लामिछानेले गोरखा मिडिया नेटवर्कमा काम गर्दा आफूले महिनाको ५ लाख पारिश्रमिक र अरु सुविधा लिएको तर कानूनमा स्वेट शेयरको व्यवस्था नभएकाले राईले नै आफूलाई पैसा दिएर त्यही पैसा शेयरका लागि गोरखा मिडियाको खातामा पठाएको बताएका छन् ।   

उनले शेयरबापत आफूले एक पैसा पनि नहालेको र जागिर छोड्दा पनि केही नलिएको बताएका छन् । इन्कारी बयान दिए लामिछानेले गोरखा मिडियाको आर्थिकपाटोका विषयमा आफूलाई थाहा नभएको र प्रबन्ध निर्देशकका रूपमा मात्रै आफूले दैनिक काम गरेको बताएका छन् । 

आर्थिक पाटोको जिम्मेवार सबै अध्यक्ष राई नै भएको उनले बताए । ‘आर्थिक पाटो मलाई केही थाहा छैन । सबै कुरा अध्यक्ष राईलाई थाहा छ, मैले आर्थिक पाटो हेरिनँ, सबै जिम्मा उहाँ (राई) कै थियो’, उनले बयानमा भनेका छन् । 

लामिछानले बुटवलको सहारा, पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट प्रवाह भएको ऋणमा आफ्नो नागरिकतालगायत कागजात समावेश नभएको पनि दाबी गरेका छन् । 

कहाँबाट कसरी रकम जम्मा भयो भन्ने कुरा अध्यक्ष राईलाई थाहा हुने विषय भएको उनको दाबी छ । समितिले लामिछानेलाई ५१ भन्दा बढी प्रश्न सोधेको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा २०७८ असार २२ मा कुमार रम्तेलको नाममा १ करोड ९० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा १ करोड ३ लाख ३६ हजार जम्मा गरी बाँकी रकम लामिछानेको खाताका ऋण फर्स्र्योट देखाई निज कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिएको थियो ।

त्यसैगरी सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा भएको खातामा मिति २०७७ असोज ११ मा १ करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आईएमई बैंकमा भएको खातामा मिति २०७८ वैशाख ५ मा १ करोड, २०७८ वैशाख ९ मा ३० लाख र २०७८ असार ४ मा १ करोड गरी जम्मा ३ करोड ३० लाख जम्मा भएको थियो ।  

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा २०७७माघ २९ मा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको थियो । यो सबै विवरणमा आफू संलग्न नभएको भन्दै जीबी राइलाई थाहा होला भनेर पन्छिएका थिए ।

यसैगरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७८ जेठ ३ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र मिति २०७८ असार ९ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा प्रवाह भएको थियो  । 

त्यतिबेला पनि उनी त्यही सञ्चालकको रुपमा थिए । २०७८ असार ३१ मा लामिछानेकै नाममा नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेका थिए ।  

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा लामिछानेको नाममा रहेको  कर्जा नं. ११६–४४५६ को ऋण रकम रु. १ करोडको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४,७५,००० र दोस्रो वर्षको ब्याज रु. १६,१३,७३० समेत गरी जम्मा रु. १ करोड ३० लाख ८९ हजार मिति २०८० असार १३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी १ करोड ३० लाख ८९ हजार ऋण कायम भएको थियो  ।  

यसरी यी सबै विवरणमा लामिछानेले अस्वीकार गरेका छन् । 

समितिले अहिलेसम्म ५० जनासँग बयान लिइसकेको छ । स्रोतका अनुसार अहिलेलाई यिनै ५० जनासँगमात्र बयान लिइएको र लेखनका क्रममा बयान दिएकाहरुले अरुलाई सोध्न सुझाव दिएका भए थप केहीसँग पनि लिन सकिने भएको छ । 

समितिले तीन महिनाको समय पाएकामा पहिलो बैठक भएदेखिको तीन महिना आगामी भदौ २२ गते समय सकिँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ