arrow

सरकार भ्रष्टाचारीहरूको भएको प्रचण्डको आरोप

हसिनाको पार्टीले एक्लै बहुमत ल्याएको थियो, के गर्‍यो दुई तिहाइ बहुमतले ? : प्रचण्ड [भिडियो]

जनभावना विपरीत गयो भने त्यस्ता दुई तिहाई बहुमत जनताले ठेगान लगाउँछन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
prachanda-05-09.jpg

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग भएको दुई तिहाइले केही नगर्ने बताएका छन् । शनिबार एक भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको आकांक्षा र जनभावना विपरीत गएमा दुई तिहाइ बहुमतलाई जनताले ठेगान लगाइदिने बताए । उनले अहिले उत्पीडित जनताले पाएको अधिकारहरू माओवादीले ल्याएको भन्दै दुई तिहाइवालाहरूले दिएको अधिकार नभएको बताए । उनले आफूहरूले संविधान संशोधन गरेर नेपाललाई पछाडि फर्काउन नदिने बताए । उनले आफूहरू जीवित हुँदासम्म दुनियाँको कुनै तागतले पनि संविधान संशोधन गर्न नसक्ने दाबी गरे । अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैले फुटाउन नसक्ने बताए । उनले फुटेर गएका माओवादी शक्तिहरुपनि एकताबद्ध हुने प्रक्रियामा रहेको उल्लेख गर्दै छिट्टै एकताबद्ध भइसक्ने बताए । 

उनले भने – ‘उनीहरूको दुई तिहाइले केही गर्नेवाला छैन । बङ्गलादेशमा भर्खरै एउटा घटना आयो । ५-७ महिना अघि शेख हसिनाको पार्टीले एक्लै दुई तिहाइ बहुमत ल्याएको थियो । के गर्‍यो दुई तिहाइ बहुमतले ? केही गर्दैन । जनताको इच्छा, जनताको आकांक्षा, जनभावना विपरीत गयो भने त्यस्ता दुई तिहाइ बहुमत जनताले ठेगान लगाउँछन् । जनयुद्धलाई दमन गर्ने बेला दुई तिहाइ थियो नि तपाईँहरूको । सक्नुभयो जनयुद्धलाई दमन गर्न ? सक्नुभएन । म कुनै आवेगमा भन्दै छैन । म आम नेपाली जनतासँग, नेपालका सबै उत्पीडित, मजदुर, किसान, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम सबैसँग । किनकि तपाईँहरूले अहिले जे–जति अधिकार प्राप्त गर्नुभएको छ । त्यो ३२ सिटेकै कारण प्राप्त गर्नुभएको हो । दुई तिहाइवालाले दिएको होइन । अहिले दुई तिहाइको धम्की दिनेहरूले ल्याएको परिवर्तन होइन । खबरदार जाली, फटाहाहरू, संविधान संशोधन गर्ने रे । पछाडि फर्काउने रे नेपाललाई । असम्भव । जबसम्म हामी यहाँ जीवित छौँ, दुनियाँको कुनै तागतले यसलाई परिवर्तन गर्न सक्दैन । हाम्रो तीन वटा प्रदेशको बैठक सकियो । म तात्तातो तपाईँहरूलाई भन्दै छु । कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । हिल्याउन सक्दैन । बरु हेर्नुहोला, केही समयपछि फुटेर गएका बाँकी रहेका माओवादीहरू पनि एकताबद्ध हुन्छन् । माओवादी आन्दोलन एकताबद्ध गरेर हामी अगाडी बढ्छौँ । यही हाम्रो लक्ष्य हो । हाम्रो पार्टी फुटाउने षड्यन्त्र त प्रतिक्रियावादीहरुले जनयुद्धका बेला पनि गरे । पछि पनि गरेकै हुन् । केही साथीहरू विभाजित भएर जानु पनि भएको हो । धेरैजसो फर्केर हामी एकताबद्ध भयौँ । बाँकी रहेकासँग पनि एकता, वार्ता चलिराखेको छ । छिट्टै हामी एकताबद्ध हुने प्रयासमा अगाडी बढिराखेका छौँ ।’

प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूको सरकार भएको आरोप लगाए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालीन सरकार ढालेर वर्तमान सरकार बनाइएको बताए । उनले यो सरकार दलाल, पुँजीपतिहरू, बिचौलियाहरू, कमिसनखोरहरु, जाली, फटाहाहरूको प्रतिनिधिको रूपमा रहेको बताए । उनले आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरूमा पैदा भएको डरका कारण यो सरकार बनेको बताए । उनले भ्रष्टाचारीहरूको रक्षाको निम्ति यो सरकार बनेको जिकिर गरे । 

उनले भने – ‘जब हामीले भ्रष्टाचारको विरुद्ध एकपछि अर्को फाइल खोल्दै गयौँ । जब हामीले सुशासनको पक्षमा आफ्नो अभियान अगाडी बढाउँदै लग्यौँ । जब हामीले सामाजिक न्यायको पक्षमा, उत्पीडित वर्ग, समुदायको पक्षमा अगाडी बढाउँदै लग्यौँ । आर्थिक सङ्कट समाधान गर्नको निम्ति एकपछि अर्को निर्णय गरेर आर्थिक समस्याको समाधान गर्दै लग्यौ । तब यो देशका दलालहरू, बिचौलियाहरूमा छटपटी पैदा भयो । तिनीहरू भित्र आतङ्क पैदा भयो । माओवादी ३२ सिटको भएर पनि हामीलाई चुनौती दिइराखेको छ । हाम्रो वर्गलाई । दलाल पुँजिपतिहरुलाई चुनौती दिएको छ माओवादीले । नोकरशाहहरुलाई चुनौती दिएको छ । सामन्त र निरंकुशतावादीहरुलाई चुनौती दिएको छ भनेपछि ती बिचौलियाहरू र त्यो दलाल पुँजीपति र नोकरशाही पुँजिपति वर्गहरू आतङ्कित भए । त्यसकारण उनीहरूले हरहालतमा यो सरकारलाई हटाउनै पर्छ भनेर यो तपाईँहरूले देख्दा खेरी त नेपाली काँग्रेस र एमाले नेताहरूले मिटिङ गरेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ रूपमा । सार चाहिँ यो देशका दलाल, पुँजीपतिहरू, बिचौलियाहरू, कमिशनखोरहरु, जाली, फटाहाहरूले तिनीहरूलाई आफ्नो प्रतिनिधिको रूपमा सिङ्गारपट्टार गरेर यो सरकार बनाइएको हो । त्यसकारण यो भ्रष्टाचारीहरूकै सरकार हो । यो भ्रष्टाचारीहरूकै रक्षाको निम्ति बनाइएकै सरकार हो । भ्रष्टाचारीहरूमा पैदा भएको डरका कारणले यो सरकार बन्यो । त्यसकारण यो सरकारलाई भन्न सकिन्छ, डर छेरुवाहरूको सरकार हो । जब केही फरार अभियुक्तहरू गिरफ्तार भए । उनीहरूमा खैलाबैला मच्चिए । अब हाम्रो पालो पनि आउनै लाग्यो भन्ने ठानेपछि मात्रै यो सरकार बनेको हुनाले यो भ्रष्ट, डर छेरुवाहरूकै सरकार हो । यो भन्न केही डराउनुपर्ने आवश्यकता छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ