arrow

आफ्नै पसलमा आगो लगाउने जेल चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १५ शनिबार
pawan-sujan.jpg

पोखरा । बिमाको रकमको लोभमा आफ्नै सपिङमा आगो लगाउने दुई जना शुक्रबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

कारागार चलान हुनेमा स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं ६ का ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ७ का ४३ वर्षीय पवन नेपाल छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुले बिमा रकमका लागि साउन १६ गते राति आफ्नै मुक्तिनाथ सपिङ सेन्टरमा आगजनी गरेका थिए ।

त्यसपछि अनुसन्धान गर्नेक्रममा दोषी देखिएपछि साउन २० गते उनीहरुलाई पक्राउ गरी प्रहरीले आपराधिक उपद्रव मुद्दा चलाएको थियो ।

यस्तो छ घटना विवरण

साउन १६ गते बुधबार राति उक्त पसलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको दावी गरिएको थियो । उनीहरुले उक्त पसल पवित्रा अधिकारीको नाममा सञ्चालन गर्दै आएका थिए ।

बीमा रकम ठगी गर्ने उद्देश्यले नै उनीहरु आँफैले पसलमा आगो लगाएको विभिन्न प्रमाणले पुष्टि गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

आगलागी लगत्तै सञ्चालकले पसलको बीमा नभएको बयान दिएका थिए । तर, प्रहरीले अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सको पोखरा शाखामा २ करोड १० लाख रुपैयाँ बराबरको बीमा गरेको प्रमाण भेट्टाएको थियो ।

सुरुमा बीमा छैन भनेर बयान दिएका सञ्चालकले आगलागी भएको भोलिपल्टै बीमा रकम दावीका लागि निवेदन दिइएको पाइएको डीएसपी शर्माले बताए ।

सञ्चालकले इन्भर्टरको तार सर्ट भएर आगो लागेको भन्ने योजना बनाए पनि इन्भर्टर कम्पनीका प्रतिनिधि र विद्युत प्राधिकरणसँग बुझेर प्रहरीले आगलागीबारे अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा पसल खासै नचलेको, सामान धेरै मात्रामा स्टक भएको र घरधनीसँग भाडालगायतका विषयमा विवाद रहेको खुलेपछि प्रहरीले सञ्चालकलाई नै शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो ।

बीमा गराएर आगलागी भए बिमा कम्पनीले रकम दिने गरेको र आफ्नो एक फार्ममा आगो लाग्दा ३१ लाख रकम बीमाबाट प्राप्त गरेको सञ्चालकका साथी पवन नेपालले बताएपछि पूर्व योजनाका साथ आगो लगाइएको पाइएको डीएसपी शर्माले बताए ।

दुवै जनाले योजना मुताविक राति पसलमा आँफैले सलाई कोरेर आगो लगाएको बयानका क्रममा स्वीकार गरेको डीएसपी शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ