arrow

जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १५ शनिबार
devendra-dahal-minister-tanahun.jpg

तनहुँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जनताका आशा र अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री दाहालले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएपछि जनतामा आशा बढेको उल्लेख गरे । 

उनले भने, “अहिलेको गठबन्धन सरकारसँग जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व छ । हामी त्यसमा प्रतिबद्ध छौँ । हामी कोही पनि निराशा नभइ सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” 

मन्त्री दाहालले तनहुँ जिल्ला कमिटीबाट विभिन्न योजनामा माग भएको बजेटको सन्दर्भमा आफूले गर्न सक्ने सहयोगका लागि प्रतिबद्धता जनाए । उनले भने, “यो वर्षको बजेट विनियोजन भइसकेकाले बजेट परिमार्जन भएमा तपाईहरूले भनेअनुसार र परिमार्जन नभए केही न केही सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछु ।”

फरक प्रसङ्गमा मन्त्री दाहालले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने बताए । एमालेलाई देशको प्रमुख शक्तिका रुपमा निर्माण गर्न सबै कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ थियो । 

त्यस अवसरमा एमाले तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सचिव प्रदीपराज अधिकारीले जिल्लाका विभिन्न महत्वपूर्ण योजनामा बजेट विनियोजन गरिदिन आग्रहसहित मन्त्री दाहाललाई मागपत्र बुझाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ