- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छन् । आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले जारी गरेको कूटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रस्तुत गरिन् ।
प्रस्तावित राजदूत तुलाधरले युवाहरुको चासो र चिन्तालाई सम्बोधन हुने गरी पर्यटन प्रवर्द्धनमा पनि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् । डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरूलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उनको भनाई थियो ।
डेनमार्क लगायतमा मुलुकहरूमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रस्तावित राजदूत तुलाधरले बताइन् । उनले देशका मुख्य मुख्य निकायसँग सहकार्य गरेर आफूले देशको हितमा हुने गरी महिलाको क्षेत्रमा, बालबालिका र मातृभाषाको क्षेत्रमा पनि काम गर्न चाहेको बताइन् ।
प्रस्तावित राजदूत तुलाधरले भनिन्, ‘युवाहरूको चाहनालाई मिट गर्ने खालको टुरिजम प्लानहरू पनि हामीले नेपाल टुरिजम बोर्डसँग मिलेर बनाउन सक्छौँ । नेपाल टुरिजम बोर्डले आफ्नो दूतहरू पनि नियुक्त गर्दो रहेछ । म उहाँहरुसँग एकदमै नजिक भएर काम गर्नेछु । देशको मुख्य मुख्य निकायहरूसँग सहकार्य गरेर त्यहाँ के काम गर्न सकिन्छ, गर्ने हो ।’
प्रस्तावित राजदूत तुलाधरले विकसित देशहरूबाट नेपाल जस्ता विकाशशील राष्ट्रहरूले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने बताइन् ।