arrow
ADVERTISEMENT

मिथेनको वृद्धि अन्य हरितगृह ग्याँसको तुलनामा तीव्र - अनुसन्धानकर्ता

मिथेनका कारण जलवायु लक्ष्य पूरा गर्ने विश्वव्यापी प्रयासलाई खतरामा पार्न सक्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
world-climate.png

काठमाडौँ । वातावरणीय अनुसन्धानकर्ताले मङ्गलबार वायुमण्डलमा तीव्र रुपमा बढिरहेको शक्तिशाली हरितगृह ग्याँस मिथेनका कारण जलवायु लक्ष्य पूरा गर्ने विश्वव्यापी प्रयासलाई खतरामा पार्न सक्ने चेतावनी दिएका छन् । 

“मिथेन अन्य प्रमुख हरितगृह ग्याँसको तुलनामा सापेक्ष रूपमा छिटो बढिरहेको छ र पूर्व–औद्योगिक समयको तुलनामा हाल २.६ गुणा बढी छ”, ग्लोबल कार्बन प्रोजेक्टको तत्वावधानमा अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय समूहले वातावरणीय अनुसन्धान पत्रहरूमा प्रकाशित गरेको अध्ययनमा भनिएको छ ।

कार्बन डाइअक्साइडपछि मानव गतिविधिले सबैभन्दा प्रचुर मात्रामा उत्पादन हुने हरितगृह ग्यास मिथेन हो । कृषि, ऊर्जा उत्पादन र जैविक प्रदुषण यसका प्रमुख स्रोतहरू छन् । 

सन् २००० को दशकमा वायुमण्डलमा प्रति वर्ष औसत ६.१ मिलियन टन मिथेन उत्सर्जन हुन्थ्यो । सन् २०१० को दशकमा यो बढेर २०.९ मिलियन टन प्रति वर्ष पुगेको थियो भने सन् २०२० को दशकमा यो ४१.८ मिलियन टन पुगेको छ । 

यसको प्रमुख उत्सर्जक चीन र दक्षिणपूर्वी एसिया हो जसको मुख्य स्रोत कोइला निकासी, तेल र ग्याँस उत्पादनसँग जोडिएको छ ।

बढ्दो मिथेन प्रदूषणले पृथ्वीको औसत तापक्रम पूर्व–औद्योगिक स्तर भन्दा २.० डिग्री सेल्सियसभन्दा बढ्न नदिने विश्वव्यापी प्रयासलाई कमजोर बनाइरहेको छ । 

सन् २०३० सम्म विश्वव्यापी मिथेन उत्सर्जन ३० प्रतिशतले कटौती गर्न युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा “ग्लोबल मिथेन प्रतिज्ञा” सुरु गरेका थिए । यसमा १५० भन्दा बढी राष्ट्रले हस्ताक्षर गरेका छन् । 

“ग्लोबल मिथेन प्रतिज्ञाका लक्ष्यहरु प्राप्त गर्नु हाल मरुभूमिमा पानी भेटिनु जत्तिकै कठिन देखिन्छ”, वातावरणीय अनुसन्धान पत्रका प्रमुख लेखक, स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिक रोब ज्याक्सनले भने । 

चीन र संयुक्त राज्य अमेरिकाले यस वर्षको अन्त्यमा कार्बनडाइअक्साइड बाहेक अन्य हरितगृह ग्याँससम्बन्धी शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ