arrow

संसदीय सुनुवाइ समिति

सांसदहरू नआएपछि राजदूतको सुनुवाइ स्थगित [भिडियो]

भोलि नै राजदूत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुङ्गो लगाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
sunuwai-samiti-06-07.jpg

काठमाडौँ । संसदीय सुनुवाइ समितिको आजको बैठक पनि स्थगित भएको छ । सोमबार श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरूको अनुपस्थितिले स्थगित भएको हो । 

यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरे पनि श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन । 

यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । नाम स्वीकृत-अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाइ बहुमत सांसदहरूको उपस्थिति अनिवार्य हुन्छ । आज (सोमबार) बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन् ।

दुई तिहाइका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उनले आजको बैठक स्थगित भएको र मंगलबार बिहान ९ बजे बस्ने जानकारी दिइन् । 

उनले भनिन्, ‘आज हाम्रो सुनुवाइ समितिको बैठक स्थगित गरिएको छ । भोलि ९ बजे बस्नेछ । केही थप कागजातहरू पनि हामीलाई आवश्यकता भएको र थप छलफल पनि आवश्यक भएकाले समितिका सबै मान्य सदस्यहरुज्युहरुले भन्नुभयो ।’

गत बैठकमा समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताए। 

सरकारले राजदूतमा सिफारिस गरेको मंगलबार ४५ दिन पुग्ने भएकाले भोलि नै राजदूत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुङ्गो लगाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ