arrow

सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्ने अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
chabilal-joshi-sahakari.jpg

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ गरेका पूर्व डीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं पूर्व डीआईजी जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

आइतबार काठमाडौँमा पक्राउ परेका जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्नका लागि प्रहरीले अदालतमा लगेकामा पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको हो । 

पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौबाट नियन्त्रणमा लिएर राति पोखरा ल्याएको हो ।

गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीसम्बन्धी अनुसन्धानका लागि जोशीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले रवि लामिछानेलाई पनि पक्राउका लागि काठमाडौँ प्रहरीसँग आग्रह गरिसकेको छ । 

सहकारीको बचत अपचलन प्रकरणमा गत वर्ष पहिलो चरणको अनुसन्धान टुंग्याएर मुद्दा गत वर्ष अदालत पुगेको थियो । अहिले संसदीय समितिको प्रतिवेदन पनि आइसकेको छ । 

समितिले प्रतिवेदनमा गोरखा मिडियाका सञ्चालकहरू जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरिसकेको छ । 

समितिले चारै जनामाथि ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका दफा आकर्षित हुने निष्कर्ष निकालेको थियो ।

राई फरार छन् । रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् । जोशीलाई पनि थप अनुसन्धानका लागि अदालतमा लगिएको छ भने लामिछानेलाई पक्राउ गर्न प्रहरी लागिसकेको छ । 

तर लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गर्न लागिएको भन्दै नेता कार्यकर्तालाई उचालेका छन् । उनलाई जस्तै आरोप लागेकाहरु जेल जाँदा उनी भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘रुम मिलाउने’ कुरा गर्दैछन् । 

उनले आइतबार राति पार्टी कार्यालयमा बसेर राति प्रधानमन्त्रीसँग वार्ता गर्ने भन्दै रुम आफैँले मिलाउने बताएका थिए । तर प्रहरी स्रोतका अनुसार उनी जुनसुकै बेला पक्राउ पर्न सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ