arrow

धुलिखेल अस्पतालमा इन्टर्नशिप गर्न आएका दुई विदेशी युवती लुटिए, तीन जना पक्राउ

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ असोज ९ बुधबार
crime-final-everytime-use.jpg

काभ्रे । काभ्रेको बनेपा नगरपालिका ६ गोसाइस्थानस्थित १६ सय सिँढीमा घुम्न गएका दुई जना विदेशी युवती लुटिएका छन् । धुलिखेल अस्पतालमा इन्टर्नशिप गर्न आएका दुई विदेशी युवती लुटिएका हुन् । 

मंगलबार साँझ बनेपा नगरपालिका– ६ भ्युटावरस्थित १६ सय सिँढीमा इभिनिङ वाकमा निस्केको अवस्थामा इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्रा लुटिएका थिए । 

उनीहरुलाई चक्कु देखाउँदै लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका– ६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा– ९बस्ने वर्ष १७ को सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका– ९  सुनथान बस्ने वर्ष १६ को उज्वल दाहाल रहेका छन् । 

उनीहरुले ती दुई विदेशी युवतीलाई चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान लुटेका थिए । लुटपाटपछि ती किशोर जंगलतिर भागेका थिए । 

उनीहरुको साथबाट लुटेका सबै सामान बरामद गरिएको प्रहरीले जनाएको छ । 

लुटिएपछि विदेशी युवतीले ती किशोरको हुलियासहित प्रहरीलाई खबर गरेका थिए । १ जना युवकले कानमा मुन्द्रा लगाएको र २ जनाले साइडमा कपाल झारेको हुलियाको आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई बनेपा नगरपालिका– ७ उग्रचण्डि पेट्रोलपम्प पछाडीबाट सोही राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट प्रहरीले २ वटा चक्कु र अन्दाजी आधा पाउ जति गाँजासमेत बरामद गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ