arrow

वडाध्यक्ष यादवको हत्या आरोपमा दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
pakrau9.jpg

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा जिल्लाकै औरही नगरपालिका-७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । जिल्ला प्रहरी कार्यालयले निजहरु उपर कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ । 

नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा विजयी भएका मुकेश सवार लु.प्र.०१-००१प.६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गतेका दिन बिहानै जलेश्वर-बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका-८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो ।

घटना शङ्कास्पद रहेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सिआइबीको माग गरेका थिए ।

जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथी सञ्जीव र दिलीप पक्राउ परेका हुन् ।

घटनाको अघिल्लो राति सञ्जीव, दिलीप र अन्य दुई महिला साथीले वडाध्यक्ष मुकेशलाई अबेर रातिसम्म बर्दिबासको विभिन्न होटलमा खुवाइपिलाइ गरेको, उनीसँगै अबेर रातिसम्म बसेको र बिहान उनको शव मृतावस्थामा फेला परेका कारण यस घटना शङ्कास्पद रहेको माओवादी केन्द्रले जनाउँदै आएको थियो ।

पक्राउ परेका सञ्जीव र दिलीपलाई बुधबार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थपगरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ