arrow

धानबाली नकाट्न किसानलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
paddy-dhan-2080-07-09 (18).jpg
फाइल तस्बिर

कञ्चनपुर । मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अघि बढाएका छन ।

बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण यही असोज १२ गतेसम्म सामान्यदेखि भारी वर्षा हुने अनुमान सहितको सूचना जारी गरिएपछि स्थानीय तहले नदी तटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण, विपदमा खटिने विषयगत शाखा, स्थानीय विपद व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपद व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ ।

वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले सो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले बताए ।

“किसानको धानबालीमा वर्षाले प्रभाव पार्ने भएकाले सचेत गर्ने कार्य गरि रहेका छौँ” उनले भने, “यो संगै थारु बाहुल्य क्षेत्रमा नदीनाला र पानी जम्मा हुने ठाउँमा माछा मार्ने कार्य गरिने हुदा वर्षा भैरहेका बेला चटयाङ पर्ने संभावना हुने भएकाले त्यस बारे पनि सचेत पार्दै छौँ ।”

बाढी, डुवान र कटानको जोखिम देखिएमा सम्बन्धित वडा कार्यालय, सुरक्षा निकायमा खवर गर्नका लागि आग्रह गरिएको उनले उल्लेख गरे ।

भारी वर्षा भएमा बस्ती नजिक बाढी र डुवानको जोखिमलाई मध्यनजर गरी वडा कार्यालय र सम्बन्धित सरोकारवालाको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

विपद्को समयमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, बालबालिकाको विशेष ध्यान राख्नका लागि सर्वसाधारणमा आग्रह गरिएको अधिकृत बिष्टले बताए ।

तत्काल खोज, उद्धार, प्राथमिक उपचार र राहतका लागि स्थानीय तहले आपतकालीन केन्द्रका सम्पर्क व्यक्ति र सुरक्षा निकायका सम्पर्क फोन नम्बर जारी गरेका छन् ।

बाढीजन्य जोखिमलाई मध्यनजर गरी भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनका लागि आग्रह गर्ने कार्य शुरुआत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ