arrow

क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
bindu-kumar-thapa-caan.jpg

पोेखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् ।

नेपाल क्रिकेट संघको वार्षिक साधारणसभामा मन्त्री थापाले खेलकुुद क्षेत्रअन्तर्गत क्रिकेट खेलमा नेपालले प्राप्त गरेको उपलब्धी प्रशंसनीय रहेको बताए । “क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौँ, हाम्रो भावनालाई मजबुत बनाएको छ”, उनले भने ।

खेलकुदको विकासमा खेल संघसंस्थाको सक्रियता र योगदान अनुपम र उदाहरणीय रहेको भन्दै उनले सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्र मिलेर नै नेपालको खेलकुदको विकासमा गति बढाउन सकिने स्पष्ट पारे ।

नेपालको संविधान २०७२ ले खेलकुद क्षेत्रलाई तीन तह संघ, प्रदेश र स्थानीयको जिम्मेवारीमा सुम्पिएको र राष्ट्रिय खेलकुद निकाय ऐन २०७७, प्रदेश खेलकुद विकास ऐन २०७७ र स्थानीय कानून निर्माण भएको जानकारी उनले बताए ।

मन्त्री थापाले खेलसम्बन्धी संघसंस्थाको पनि स्थानीय तह, जिल्ला, प्रदेश हुँदै संघीय संरचना निर्माण भएको हुँदा सबै संघसंस्थाले आआफ्नो साधारणसभामार्फत अध्यावधिक हुनुपर्ने धारणा राखे ।

गण्डकी प्रदेश सरकारले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका खेल संघसंस्थाको नियमन र सञ्चालनका लागि मापदण्ड लागू गरेको जानकारी उनले गराए ।

खेलाडीको पहिचान, अवसर र सम्मानका लागि रेफ्री/कोच/खेलाडीका लागि वार्षिक आकस्मिक बीमा कार्यान्वयन गरिएको उनले उल्लेख गरे ।

ओलम्पियन नौ जना खेलाडीलाई प्रदेश सरकारले वार्षिक भत्ताको व्यवस्था गरेको र यसका लागि खेलाडी कल्याणकारी कोष र गण्डकी प्रदेश खेलकुद पदकको स्थापना र सञ्चालनको कार्यविधि निमार्णको चरणमा रहेको उनले बताए ।

राष्ट्रिय खेलकुद परिषद् र खेलकुद पूर्वाधारको निर्माण र मर्मत सम्भारसँगै व्यवस्थापनमा प्रदेश सरकार र प्रदेश खेलकुद परिषद्सँग समन्वय गनुपर्नेमा मन्त्री थापाले जोड दिए ।

गण्डकी प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी-८ गणपतिस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट खेल मैदानको रुपमा घोषणा गरेको र यसले पोखरा र चितवन भरतपुरको खेल मैदानलाई समेत टेवा पुग्ने विश्वास उनको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एनपीएलका लागि टीयुको खेलमैदानमा स्कोर बोर्ड सञ्चालनमा ल्याउने तयारी भएको जानकारी गराए ।

उनले खेलकुदलाई उद्यम्, आयआर्जनसँग जोड्न परिषद लागिरहेको भन्दै घरेलु क्रिकेट संरचनालाई मजबुत बनाउन आवश्यक रहेको बताए ।
संघका महासचिव पारस खड्काले नेपाली क्रिकेट टोलीले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइएको बताए ।

पूर्व कप्तानसमेत रहेका उनले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे । जिल्ला स्तरबाट नै व्यवसायिक रुपमा खेलाडीलाई जोड्नुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर कँडेललगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ