arrow

त्रिशूलीले बगायो एक्साभेटर र टिपर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
trisuli-fedi-81-5-27.jpg
तस्बिर – फाइल ।

गोरखा । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सीमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।  

केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिपर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए । “साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो,” उनले भने, “सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।”

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिपर, दुईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनको भनाइ छ । 

ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिपर र एक्साभेटर नदीले बगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ