arrow

तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
tanahun-sadak.jpg

तनहुँ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरो जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् ।

पहिरोले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

पृथ्वीराजमार्ग र भित्री सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका-१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका-६ मौरीओडार, भानु नगरपालिका-१ भन्सारमा सडक अवरुद्ध भएको छ ।

उनका अनुसार सबै ठाउँमा पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ । उनले भने, “पानी परिरहेकाले पहिरो पन्छाएर समस्या भएको छ ।”

यस्तै व्यास नगरपालिका-३ मादी पुल नजिक सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ ।

मुग्लिन-पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको हो ।

कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ