arrow

काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार गरियो : गृहमन्त्री लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
ramesh-lekhak-05-13.jpg
तस्बिर : फाइल

काठमाडौँ। गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।

शनिवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोस्ट’को बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौँ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्धार गरेको जानकारी दिए ।

“दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।” गृहमन्त्री लेखकले भने, “ मुलुकमा ठुलो विपद्को स्थिति आएको छ ।” उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।

वर्षाका कारण काठमाडौँ भित्रने सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए । “विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।”, उनले भने, “ बाढी, पहिरो लगायत विपद् सम्बन्धी पूर्व सूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।”

उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुनर्स्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो । उनले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोस्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए ।

“खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाई उद्धारमा समेत समस्या भयो ।”, उनले भने, “स्थलगत रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना सङ्कलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्धार गर्ने गरी सुरक्षा निकाय परिचालन भएको छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ