arrow

त्रिशूलीको कटानको मार, घरहरु डुबानमा, झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
malekhu-dhading-katan-aa.jpg

मलेखु । लगातार वर्षाका कारण त्रिशुली नदीमा बढेको पानीको बहावले कटान सुरु गरेको छ । योसँगै दर्जनौँ घरहरु उच्च जोखिममा परेका छन् । 

घरका जगहरु नदीको पानीले बगाएपछि नदी किनारका घर डुबानमा परेका छन् । त्यस्तै भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् ।

गोरखा र धादिङ्ग तथा गोरखा–चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

बाढीले आज बिहान गोरखाको शहीद लखन गाउँपालिका–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बगाएको उहाँले बताउनुभयो । बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको हो ।

सोही नदीमा आएको बाढीका कारण थप तीन पुल बाढीको उच्च जोखिममा परेको श्रेष्ठको भनाइ छ । बाढीका कारण गोरखाको सहिद लखन–३ सिलिङ्ग र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेका छन् ।

त्यस्तै गोरखाको गण्डकी गाउँपालिका–७ धवादीघाट र धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका–६ स्थित हिक्लुङ्गमा रहेको झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको उहाँले बताउनुभयो । उक्त झोलुङ्गे पुल गत वर्ष पनि बाढीले क्षति पुर्याएपछि भर्खरै मात्र मर्मत गरिएको थियो ।

सोही ठाउँमा रहेको अर्को एक झोलुङ्गे पुल समेत बाढीको उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । बाढीको जोखिममा रहेका सबै पुलबाट अहिले आवातजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ