कोशी ब्यारेजको पुलमाथिबाटै बग्न थाल्यो पानी, सम्पूर्ण आवतजावत बन्द
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
603
Shares
तस्बिर : फाइल
इनरुवा। कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ। सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो। पुलमाथिबाटैसमेत पानी बग्न थालेको उक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले विज्ञप्ति जारी गर्दै अपरान्ह ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए। अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत उनले अनुरोध गरेका छन्।
सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले प्रतिसेकेन्ड पाँच लाख २१ हजार क्युसेक नाघेको छ।
पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उनले बताए । यसका साथै सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोकासमेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए।