देशभरको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सबाट दुःख व्यक्त
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
566
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएकी छिन् ।
नेपाल–फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा शनिबार साँझ आफ्नै निवासमा आयोजित स्वागत समारोहमा उनले प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताउँदै यो विषम परिस्थितिमा फ्रान्स सरकार र फ्रान्सेली जनता नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहनुभूति एवं ऐक्यबद्धता प्रकट गर्दछौँ भनिन् ।
फ्रान्सका विभिन्न शैक्षिक प्रतिष्ठानमा माध्यमिक शिक्षादेखि विद्यावारिधिसम्मको अध्ययन गर्न चाहने नेपालीलाई लक्ष्यित गरी आयोजित शैक्षिक प्रदर्शनीले फ्रान्स र नेपालबीचको सम्बन्धलाई शिक्षाका माध्यमबाट अझ उन्नत बनाउने विश्वास व्यक्त गरिन् । जेहेन्दार विद्यार्थीलार्ई आफ्नो देशले छात्रवृत्तिको व्यवस्था पनि गरेकाले त्यसबाट नेपाल लाभान्वित हुने विश्वास राजदूत कोर्टेभालले व्यक्त गरिन् ।
त्यस अवसरमा त्रिभुवन र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं प्रशासकका साथै ‘क्याम्पस फ्रान्स’ का दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूको उपस्थिति थियो ।