arrow

सहकारी ठग ढोरपाटनका मेयर नेपालीलाई बागलुङ ल्याइयाे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
devkumar-nepali-baglung-dhorpatan.jpg

पोखरा । बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ ल्याइएको छ । शुक्रबार साँझ नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रहरीमार्फत पक्राउ परेका नेपालीलाई शनिबार नेपाल ल्याइएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बाग्लुङ पठाइएको जनाएको छ । प्रहरीले नेपालीका दाजु ओमप्रसाद दर्जीलाई पनि पक्राउ गरेर बाग्लुङ पठाएको जनाएको छ । नेपालीलाई बागलुङ प्रहरीले आजै अदालतमा पेस गरिएकामा अदालतको फैसला आउन बाँकी रहेको बताइएको छ ।

फरार भएपछि नेपालीलाई पक्राउ गर्न नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका सहकारीका अध्यक्षसमेत रहेका नेपाली १६ महिनादेखि फरार थिए ।

इमेज सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी सपरिवार सम्पर्कविहीन भएका थिए ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।

जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । सहकारी संस्थामा भएको बचकर्ताको रकम अपचलन सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो ।

अध्यक्ष नेपालीले बागलुङ, कास्की, काठमाडौँलगायत ठाउँमा रहेको रु तीन अर्ब बराबरको घरजग्गालगायत भौतिक सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने बताउँदै आएका छन् ।

उनले बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहने गरी जिल्लाको गलकोट र बुर्तिबाङमा पनि सहकारीको शाखा खोलेका थिए ।

नेपाली नै अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन हुँदै आएको थियो ।

दुवै जिल्लाका सयौँ शेयर सदस्य र बचतकर्ताको रकम उक्त सहकारीका सञ्चालकले अपचलन गरेका हुन् । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट ढोरपाट नगरपालिकाकाे मेयरमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ