arrow

चुनौती वर्षाको

कोशी प्रदेशबाट मौसम बदली शुरू, मधेस, बागमती र गण्डकीसम्मै फैलिने, असर तीन दिनसम्म

असोज १७ गतेसम्मै सोही अवस्था, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
weather-satellite-image-mfd.jpg
तस्बिर – सेटेलाइट तस्बिर मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौँ । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली शुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेस प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । 

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छभने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।” यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ । तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन् ।

तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । 

भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन् । आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ । 

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ