arrow

हवाई भाडा झन् बढ्दासमेत सरकार रमिते 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
tia-new-81-6-11.jpg

काठमाडौँ । एयरलाइन्सहरुले हवाई भाडा ह्वात्तै बढाउँदासमेत सरकार रमिते बनेको छ । काठमाडौँबाट भैरहवाका लागि न्यूनतम ५२ सय रुपैयाँ लिँदै आएका एयरलाइन्सहरुले न्यूनतम नै ६२ सय गरेका छन् । त्यतिमात्र होइन न्यूनतम मूल्य नबढाइ यात्राका लागि यात्रुलाई सहज बनाउने प्रतिबद्धता गरेको वायु सेवा सञ्चालक सङ्घले झुटमाथि झुट बोलेर सरकारबाट सहुलियत लिने रणनीति बुने पनि सरकार भने मौन बसेको छ । 

नेपाल आयल निगमले सोमबार मात्रै हवाई इन्धनको मूल्यसमेत घटाएको छ । तर एयरलाइन्सहरुले भने चाडबाडको मौका छोपेर टिकट मूल्य बढाएका छन् । जबकि प्राकृतिक विपदले सडक मार्ग तहसनहस पारेपछि आफूहरुले सहुलियतमै यात्रु ओसार्ने बताएको थियो । 

सोमबार त नेपालको हवाई इतिहासमै सर्वाधिक उडान भएको छ । तर यात्रु भने चरम रुपले ठगिएका छन् । 

कुनै पनि हवाई कम्पनीको आगामी शुक्रबारसम्मका लागि कुनै टिकट नै उपलब्ध रहेको छैन । शनिबारका लागि बुद्ध एयरले काठमाडौँदेखि भैरहवाको भाडा रु ७२१६.१८ देखि ८१८४.५९ सम्म देखाएको छ । त्यस्तै ईसेवामा बुद्ध एयरको ८५६४ रहेको छ भने श्री एयरको ८५ सय भाडा रहेको छ ।

यसअघि सामान्य अवस्थामा यो रुटमा सबै एयर लाइन्सले ५२ सयमा टिकट बेचिरहेका थिए ।  

हवाई कम्पनीले अहिले सरकारले तोकेको अधिकतम मूल्यमा टिकट नबेच्ने घोषणा गरे पनि त्यसलाई पालना गरेनन् । यात्रुले सामान्य अवस्था भैरहवाको रुटमा भन्दा २ देखि ४ हजार रुपैयाँ बढी भाडा तिरिरहेको पाइएको छ ।

अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरु अवरोध भएको तथा दशैंको मौका छोपेर हवाई कम्पनीहरुले यात्रुलाई झन मार पारिरहेको स्पष्ट हुँदा पनि सरकार भने रमिते भएर बसेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसम्मले हवाई यात्रालाई सहज बनाउन आह्वान गरेका छन् । मुख्यमन्त्रीहरुलेसमते सहज हवाई यात्राका लागि आह्वान गरेका छन् । 

तर त्यो आह्वान बालुवामा पानी हाले बराबर भएको छ । सडक सञ्जाल चुनौतीपूर्ण भएपछि वर्षदिनको चाडबाड होस् वा काममा निस्कनुपर्ने बाध्यता होस् हवाई यात्रा नै गर्नुपरेको छ । 

अहिले यात्रुले टिकट पाइरहेका छैनन् र पाएको टिकट पनि अन्य समयमा भन्दा ४ हजारसम्म बढी तिरेको स्पष्ट देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ