arrow

समितिमा गृहमन्त्री

सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ- गृहमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
ramesh-lekhak-06-15.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताएका छन्। मङ्गलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताए । त्यसपछि राहत वितरण, घाइतेहरूको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरू सुचारु गर्नका लागि सरकार क्रियाशील भइरहेको उनले बताए । 

उनले विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी गराए । बिरामीहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको उनले बताए । त्यस्तै सडक सञ्जाल मर्मतको काम पनि सबै अवरुद्ध भएका ठाउँहरूमा चलिरहेको उनले उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरूलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भए पनि सम्भव नभएको प्रस्ट्याए । नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरूलाई समयमै उद्धार गर्न नसक्दा उनीहरू बगेका थिए । सो कुराको सांसदहरूले आलोचना गरेसँगै उनले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भए पनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको बताए । 

उनले भने – ‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन । सरकारले हेर्नै सकेन भन्ने होइन । हामीले प्रयत्न गरेको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ । प्रहरीले उहाँहरुलाई उद्धार गर्ने प्रयत्न गरेको छ । हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो । प्रतिकुल मौसमका कारणले भएन । प्रयत्न गर्दागर्दै पनि उहाँहरु बग्नुभयो । ३ जनाको उद्धार भयो । २ जना बेपत्ता भएको अवस्था छ । सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको होइन । कोसिस गरेको हो । मृतकको परिवारलाई गृह मन्त्रालयले घोषणा गरे अनुरूपको दुई लाख रुपैयाँ ललितपुर जिल्लाले त आजै दिन सक्ने भनेको छ । आवश्यकता भएको जिल्ला व्यवस्थापन समितिहरूमा प्राधिकरणबाट आवश्यक रकम पठाइएको छ । यदि राहतका लागि रकमको अभाव भयो भने तत्काल रकम उपलब्ध गराइने कुरा सबैलाई जानकारी गराइएको छ । त्यसको सुनिश्चितता गरिएको छ । हामी अहिले खोज, उद्धार, राहत, बिरामीहरूको उपचार, घाइतेहरूको उपचार र सडक आवागमनलाई सुचारु गर्ने विषयमा केन्द्रित भएका छौँ । र त्यसमा लाग्छौँ । यसपछि विस्तृत क्षतिको जानकारी लिएर पुनर्निर्माणका कामहरू, अरू पनि धेरै कामहरू गर्नेछौँ ती कामहरू गर्नेछौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ