arrow

नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
chinilal-samman.jpg

पाटन (ललितपुर)। गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन् । चर्चामात्र होइन हाल उनलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।

यसैक्रममा ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्यो । सम्मान कार्यक्रममा उनले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाउने काम गरेको बताए । खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उनले सुनाए । 

“ठूलो खोला थियो, काठ तथा अन्य सामान पनि बगाएर ल्याएको थियो, मान्छेलाई खोलाले बगाउँदै नजिकै ल्यायो, मन थाम्न सकिन, श्रीमती र छोरीले नजाऊ बगाउँछ भन्दै थिए तर उनीहरू र आफ्नो प्रवाह नगरी हामफालेर बचाएँ”, चनिकलाले भने । 

उनले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्व थाहा पाएको धारणा राखे । तामाङले आफूले कल्पनामा पनि यस्तो सम्मान पाइएला भन्ने नसोचेको भन्दै महानगरप्रति आभार व्यक्त गरे । 

“मलाई कुनै सम्मानको आश थिएन तर पनि नगद रु एक लाखसहित तपाईँहरूले गर्नुभएको यो सम्मानप्रति म निकै खुसी छु”, उनले भने । ललितपुर महानगरले चनिकलाललाई नगद रु एक लाख र सम्मानपत्र प्रदान गरेको थियो ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चनिकलालले गरेको यो महत्त्वपूर्ण मानवीय कार्यको जति प्रशंसा गरेर पनि अपूरो हुने भन्दै ठूलो जोखिम मोलेर दुई जनाको ज्यान बचाएकामा धन्यवाद भने । 

“बहादुरीपूर्वक जुन काम गरे, त्यो ज्यादै प्रशंसायोग्य छ, तपाईँको बहादुरीले दुई जनाको ज्यान बच्यो, यो सम्मानभन्दा पनि ठूला हो । तपाईँले गर्नुभएको काम भविष्यमा पनि सम्झिरहने छौँ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ