काठमाडौँ । पाकिस्तानका निवर्तमान कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङ्गल्याण्ड विरुद्धको दोस्रो टेस्टमा टिम बाहिर राख्ने तयारी गरिएको छ ।
क्रिकइन्फोका अनुसार नयाँ छनोट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिस गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै आलीम डार, आकिब जावेद र अजहर अलीलाई छनोट समितिको सदस्यमा नियुक्त गरेको थियो ।
यसअघि पाकिस्तानको छनोट समितिमा असद शफिक र एनालिष्ट हसन चीमा रहेका थिए । साथै कप्तान र प्रशिक्षक पनि छनोट समितिमा हुने गर्दछन् ।
बाबरले कप्तान पुनः नियुक्त भएको ६ महिनापछि नै इङ्गल्याण्ड विरुद्धको टेस्ट शुरु हुनुअघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् ।
इङ्गल्याण्डविरुद्धको पहिलो टेस्ट कीर्तिमानसहित हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ मंगलबारदेखि मुल्तानमा खेल्दैछ ।