arrow

विद्युतीय तार भूमिगत आयोजना धिमा गतिमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
underground-cabling.jpg
फाइल तस्बिर

पोखरा । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना सुस्त भएको बताए ।

“अनेक अड्को र कारण देखाउँदै निर्माण कम्पनीले समयमा काम गर्न सकेको छैन”, उनले भने, “गत वर्ष माघमा थपिएको ठेक्का म्याद पनि सकिन लागेपछि पुनः म्याद थपका लागि प्रकृया अगाडि बढेको छ ।”

इन्जिनियर सुवेदीले अहिलेकै गतिमा काम भएमा आयोजनालाई पूर्णता दिन वर्षौँ लाग्ने बताए । उनका अनुसार गत कात्तिकमा आयोजनाको प्रगति २५ प्रतिशत पुगेकामा त्यसयता वर्षदिनमा जम्मा २५ प्रतिशत प्रगति थपिएको हो ।

भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो । ठेक्का सम्झौता भएको १५ महिनापछि २०८० वैशाखको अन्तिमतिर पोखरामा तार बिछ्याउने काम सुरु गरिएको थियो ।

इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना सुस्ताएको इन्जिनियर सुवेदीले बताए ।

“चित्तबुझ्दो ढङ्गले आयोजनाको काम हुन सकेको छैन, केही समयदेखि काम नै रोकिएको छ, दसैँलगत्तै काम सुरु गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ”, उनले भने ।

पोखरा महानगरपालिका-१० कुँडहरचोकदेखि बुद्धचोकसम्म र लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको इन्जिनियर सुवेदीले जानकारी दिए ।

पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इन्जिनियर सुवेदीले बताए ।

आयोजनाअन्तर्गत पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिँहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैङ्कचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो ।

मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना कार्यालयले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छाइनेछ ।

“विद्युतसँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्”, इन्जिनियर सुवेदीले भने, “पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।”

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ । तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरणले नै गर्नेछ ।

प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको इन्जिनियर सुवेदीले बताए ।

तार भूमिगत गरेपछि ठाउँ-ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।

भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने प्राविधिक बताउँछन् । तार बिछ्याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनीहरूको भनाइ छ ।

पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् । वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो ।

काठमाडौँ उपत्यकापछि पोखरा र भरतपुरमा उक्त आयोजना अघि बढेको हो । प्रभाव र उपयोगिता हेरेर पोखराका अन्य ठाउँमा पनि तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ