arrow

तिहार बिदामा पनि रोकिएन काम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १९ सोमबार
Tanahun hydropower tunnel.jpg
फाइल तस्बिर

तनहुँ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो ।

आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले भाइटीकाका दिनमा पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ । दिउँसो र राति गरी दुई ‘सिफ्ट’मा निर्माण भइरहेको छ ।

चरण-१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छ भने चरण-२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युत् गृहको काम भइरहेको आयोजनाका सञ्चार विज्ञ सचिन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा दुई सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ । यसअघि दसैँमा आयोजनाको काम निरन्तर गरिएको थियो ।

सिफ्टमा आलोपालो मिलाएर तिहार लगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

“आयोजनाको तीन चरणमध्ये अहिले दुई वटा चरणमा निरन्तर काम सञ्चालन भइरहेको छ”, उनले भने, “निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम रोकेका छैनौँ ।”

चरण-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ । चरण-२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताए । उनका अनुसार सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन् ।

चरण-२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । भूमिगत विद्युत् गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत् गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन् । आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिए ।

पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ ।

एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ