arrow

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई पक्राउ पुर्जी लिन प्रहरी अदालतमा, एक न्यायाधीशमात्र उपस्थित

सातमध्ये छ न्यायाधीश अनुपस्थित हुँदा महान्यायाधीवक्ता बडालले अहम् भूमिका खेलेको आरोप, पार्टी कार्यालयमा नेता कार्यकर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
kaski-jilla-adalat-81-7-2.jpg

पोखरा । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी पुर्जी लिन कास्की जिल्ला अदालतमा पुगेको छ । 

जिल्ला एसपी र डीएसपीको टोली अदालतमा पुगे पनि अदालतमा न्यायाधीशहरुको अनुपस्थितिले भने हैरानी पारेको छ । 

कास्की जिल्ला अदालतमा नवराज दाहालको नेतृत्वमा सात जना न्यायाधीश रहे पनि एक जनामात्र अदालतमा पुगेका छन् । 

न्यायाधीश कृष्णजंग शाहमात्र अदालतमा पुगेका छन् भने १५ दिने लामो बिदापछि पनि अझै ६ न्यायाधीशहरु अदालतमा उपस्थित भएका छैनन् । 

अदालतमा सबैभन्दा बढी बिदा हुने गर्दछ । बडादशैँको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन अदालतमा बिदा हुने गर्दछ । 

तर त्यो बिदा सकिँदासमेत एकैपटक छ न्यायाधीश अनुपस्थित हुनुलाई भने सहज रुपले लिन नहुने विश्लेषण भइरहेको छ । 

रवि लामिछानेलाई पक्राउ गर्न नहुनेमा महान्यायाधीवक्ता रमेश बडाल रहेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा रहेका बेलामासमेत लामिछानेलाई पक्राउ गर्न नहुने सर्कुलर जारी गरेको सत्ता गठबन्धनमै पुगेको थियो । 

जसका कारण नेपाली कांग्रेसले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग जवाफ माग्नेसमेत बताएको थियो । 

तिनै बडालका कारण आधादर्जन न्यायाधीशहरु एकैपटक अनुपस्थिति भएसँगै अदालतको काम कारबाही त प्रभावित भएको छ नै रवि लामिछानेलाई पक्राउ पुर्जी नदिने षड्यन्त्रसमेत देखिँदैरहेको बुझिन्छ । 

यद्यपि आज नभए भोलि त पक्राउ परिहाल्छन् नि भन्ने कुरा भने न्यायाधीशले पनि भुलेको देखिन्छ । 

रविलाई बचाउने खेलमा एमालेसमेत लागेको आरोप लाग्न थालेको छ । यद्यपि एमालेकै सांसद सूर्य थापाको संयोजकत्वमा गठित सहकारी छानबिन संसदीय समितिले रवि लामिछानेलाई दोषी ठहर गरेको थियो । 

ओली अमेरिका जानुअघि नै रविलाई दोषी ठहर्याइएको भए पनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् । 

रवि पार्टी कार्यालयमा

आज पक्राउ पर्न सक्ने संकेत विपक्षी दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । 

रवि पक्राउ पर्ने डरले रास्वपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुको उपस्थिति बढेको छ । 

सहकारी ठगी प्रकरणमा रविका पूर्व साझेदार एवं पूर्व डीआईजी छविलाल जोशी एक महिनादेखि थुनामा छन् भने उनी अझै बाहिर छन् । 

उनलाई सर्वोच्च अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा रहेको निक्षेप समेतका रकम हिनामिना एवं अपचलन गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । 

सभापति लामिछाने पनि प्रतिपक्षी दलको बैठकपछि पार्टी कार्यालय बनस्थली पुगेका छन् । लामिछानेसहित काठमाडौँमा उपलब्ध रहेका केन्द्रीय नेताहरु पनि बनस्थली पुगेको एक नेताले जानकारी दिएका छन् । नेताहरुसँगै कार्यकर्ता पनि अहिले पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ ।

प्रचण्डले सरकारले लामिछानेलाई पक्राउ गर्नसक्ने बताएपछि उनी थप सशंकित बनेको बताइएको छ । रास्वपाका एक नेताले आज कार्यकर्तालाई पार्टी कार्यालयमा नबोलाइएको दाबी गरेका छन् । उनले सभापति लामिछानेले कानून अनुसारका विषयमा सहयोग नै गरिरहेकाले कार्यकर्ता जम्मा गरेर प्रतिवाद गर्ने रणनीति नभएको स्पष्ट गरेका छन् ।

सहकारी प्रकरणमा असोज ६ मा लामिछानेकै पूर्व साझेदार छबिलाल जोशी पक्राउ परेपछि नै सरकारले लामिछानेलाई पक्राउ गर्ने हल्ला चलिरहेको छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसले लामिछानेलाई तत्काल पक्राउ गर्न दबाब बनाइरहेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछानेलाई हतारमा पक्राउ गर्न नखोजे तर कांग्रेसको दबाब बढाइरहेको बताइएको छ ।

लामिछानेलाई पक्राउ गर्न राजनीतिक नेतृत्वकै अन्तिम निर्देशन आवश्यक रहेको भन्दै प्रहरीले पनि आफुलाई तयारी अवस्थामा राखेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ