arrow

सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका रवि लामिछानेलाई अदालतमा पेश गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
ravi-lamichhane-81-7-2r.jpg
तस्बिर – फाइल ।

पोखरा । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ ।

शुक्रबार साँझ काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा ल्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । 

केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो । 

सहकारी प्रकरणबारे छानबिन गर्न गठीत संसदीय छानबिन समितिले दोषी ठहर गरेका लामिछानेलाई पक्राउ गरेर अनुसन्धान थाल्न भने ढिलाइ भएको थियो । 

गत शुक्रबार मात्रै कास्की जिल्ला अदालतले पक्राउ गर्ने अनुमति दिएसँगै उनलाई पक्राउ गरिएको हो । लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा पनि अनुसन्धान हुने भएको छ । 

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो ।  

अदालतले दिएको अनुमतिमा सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धी विषयमा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति दिएको उल्लेख छ ।

योसँगै उनीमाथि किर्ते र सम्पत्ति शुद्धीकरणमासमेत मुद्दा चल्ने बताइएको छ । यसअघि उनी दोहोरो नागरिकताका कारण उपप्रधान तथा गृहमन्त्रीसँगै सांसद पद गुमाउन पुगेका नेता हुन् । 

उनको दोहोरो पासपोर्टको विवाद पनि कायमै रहेको छ । 

यता रास्वपाका नेता कार्यकर्ता भने प्रतिशोधका भावनाले लामिछानेलाई पक्राउ गरिएको भन्दै विरोधमा उत्रिएका छन् । जबकि रास्वपाका शिशिर खनालसमेत संसदीय छानबिन समितिमा रहेका थिए । उनले पनि रविलाई दोषी देखेका थिए । 

प्रहरीले उनलाई ३४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ। तत्कालीन व्यापारिक साझेदार एवं पूर्वडीआईजी छविलाल जोशीलाई भने प्रहरीले असोज ६ गते नै पक्राउ गरेको थियो।

उनीमाथि हाल पोखरा प्रहरीले अनुसन्धान गरिरहेको छ। सहकारी ठगी सम्बन्धमा छानबिन गर्न सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित संसदीय विशेष समितिले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा लामिछानेविरुद्ध चार वटा आरोपमा अनुसन्धान गर्न सकिनेछ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न कास्की लगिएको हो । 

 सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

राई, जोशी र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रूपैयाँ अवैध तरिकाले लगेको संसदीय छानबिनबाट खुलेको छ। 

सहकारीबाट रकम लैजाँदा र खर्च गर्दा लामिछाने गोर्खा मिडिया नेटवर्कका सञ्चालक थिए। गोर्खा मिडियामा सहकारीबाट अवैध तरिकाले लगिएको रकम लामिछानेले खर्च गरेका हुन्।

असोज ६ गते पक्राउ परेपछि जोशीले सहकारीको रकम ल्याएर अपचलन गर्ने र मिडिया खोल्न उक्साउने लामिछाने भएको बताएका थिए। लामिछानेलाई नसमातीकन आफूलाई मात्र पक्राउ गरेको भन्दै जोशीले प्रहरीसमक्ष गुनासो गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ