arrow

लामिछाने पक्राउ परेसँगै आफूहरुले न्याय पाउने सहकारी पीडितको भनाइ, आन्दोलन चर्काउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
ravi-lam-04-04.jpg
फाइल तस्बिर

पोखरा । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक आन्दोलन शुरु गरेको छ । आन्दोलनअन्तर्गत रास्वपाले शनिबार पोखरा, काठमाडौँसहितका सहरमा विरोध प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेको थियो ।

आन्दोलन निरन्तर रहने सो पार्टीले जनाएको छ । प्रदर्शनमा देशभरबाट कार्यकर्ता पोखरा आएका थिए । केही स्थलमार्ग र केही हवाई मार्गबाट कार्यकर्ता पोखरा आएका थिए । विरोध प्रदर्शनका क्रममा पार्टीका जिल्लादेखि केन्द्रीय नेताले संवोधन गर्दै पार्टीको धारणा स्पष्ट पारेका थिए ।

यसैबीच पोखरामा सहकारी पीडितले पनि आन्दोलन चर्काउने भएका छन् । उनीहरुले आज बिहान ११ बजे पोखराको राष्ट्र बैँक चोकमा जम्मा भएर आन्दोलन गर्ने सहकारी पीडित संघर्ष समितिले जनाएको छ ।

लामिछाने पक्राउ परेसँगै आफूहरुले न्याय पाउने आशा जागेको सहकारी पीडितले जनाएका छन् । नेपालमा सहकारीबाट लाखौँ पीडित भएका छन् । 

लामिछाने पक्राउ परेसँगै समग्रमा सबै सहकारी पीडितले न्याय पाउनु पर्ने मागसमेत उठेको छ ।

रास्वपाका कार्यकर्ता र सहकारी पीडितले आन्दोलन गर्ने जनाएपछि पोखरामा सुरक्षा सतर्कता बढाइएको कास्की प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ