arrow

न्यायपालिकालाई लयमा फर्काउनेछु - प्रधानन्यायाधीश राउत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
prakashmanshing-raut-07-05.jpg

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रूपमा अघि बढाउने बताएका छन् । सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको सामूहिक भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरे । 

नवनियुक्त प्रधानन्यायाधीश राउतले आफूसँग निष्ठा र निष्कलङ्क छवि भएका न्यायाधीशहरू रहेको दाबी गर्दै उनीहरूको जोड बलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने अठोट र संकल्प लिइएको पनि बताए । अदालतभित्र अफ्ठयाराहरु,असहज परिस्थितिहरु रहेको उल्लेख गर्दै उनले त्यसलाई सल्टाउने दायित्व पूरा गर्ने बताए । प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौती हटाउने काममा आफूहरूले सञ्चारकर्मीहरूबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताए । 

उनले भने, ‘यो अदालत भनेको सबैको अदालत हो । नागरिकको हक र अधिकारको लागि यो अदालत प्रतिबद्ध छ । र नागरिक हक र अधिकारको प्रत्याभूतिको सन्दर्भमा यो अदालतले निर्वाह गर्नुपर्ने जुन भूमिकाहरू छ । यसमा हामी आफ्नो ठाउँबाट जे सम्पादन गर्नुपर्ने हो, त्यो हामी गरिहाल्छौँ । तथापि राज्यको चौथो अङ्गको रूपमा रहेको हाम्रा आदरणीय पत्रकारहरू र सञ्चारकर्मी मित्रहरूले पनि हाम्रा कुराहरू जनता समक्ष पुर्‍याइदिनुपर्ने हुन्छ । र तपाईँहरूको सहयोग, सद्भाव र सदा सहायताविना यो अदालत एक्लैले सबै कुरा गर्न सक्दैन । त्यसकारण यो पाटोमा म यहाँहरूसँग सहकार्य गर्न चाहन्छु । र न्यायिक नेतृत्व यो कुरामा सजग र सतर्क छ । र सँगसँगै तपाईंहरुलाई म यो पनि भन्दछु कि तपाईँहरूको अभिव्यक्ति स्वतन्त्रताको जुन कुरा छ । त्यसलाई म सम्मान पनि गर्न चाहन्छु । र त्यसको जुन हिसाबबाट हामीले अदालतले बुझ्नुपर्ने हो, त्यो बुझाइमा पनि हामी तलमाथि गर्दैनौँ । र त्यो संविधान प्रदत्त ती अभिव्यक्ति स्वतन्त्रताहरूलाई हामी सम्मान गर्दै त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा पनि हामी लागि पर्दछौँ । आज तपाईँहरूसँग छोटो भेटघाटमा दुई वटा कुरा म विशेष गरेर भन्न चाहन्छु । तपाईँहरूसँग यो न्यायिक नेतृत्वको के छ भने संवाद र भेटघाट अलि बाक्लो बनाउनुपर्नेछ । अलि बढी सूचनाहरू तपाईँहरूलाई हामीले सम्प्रेषण गर्नुपर्ने भएको छ । र तपाईंहरुमार्फत नै जनता समक्ष ती कुराहरू पुग्ने भएकाले तपाईँहरूसँग मैले बढी अपेक्षा पनि गरेको छु । त्यो मैले आफ्नो अधिकारको रूपमा नै लिएको छु । तपाईँहरूको सद्भाव र सहयोग गर्दै पाइरहेको कन्टेष्टमा फेरी पनि मैले पाउँछु होला । त्यो कुराका लागि मैले तपाईँहरूसँग जुन समय छ । समय अनुसार चाँडो चाँडो तपाईँहरूसँग संवादमा म बस्नेछु । र फाईनल्ली म के भन्न चाहन्छु भने कि हाम्रो देश सानो छ । जताततै चुनौती छ । राज्यको चौथो अङ्गमा पनि चुनौती देखिन्छ । हाम्रा अड्डा अदालतमा पनि निकै छन् । यताको म नैतिक जिम्मेवारी लिन तयार छु । तपाईँहरूले मलाई सुझाउनुस्, यो अदालतभित्रको जे जति अपm्ठयाराहरु, असहज परिस्थितिहरू छन् । यसलाई मैले सल्टाउने नै हो । त्यसको मैले नैतिक जिम्मेवारी लिने पनि हो । र मैले तपाईँहरूलाई फेरी पनि दोहोर्‍याएर भन्छु–हामीसँग निष्ठा छ । र निष्कलङ्क छवि भएका न्यायाधीशहरू छन् । त्यसको जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ । यसलाई अझ प्रभावकारी र समृद्ध रूपमा यसमा लैजाने हामीले अठोट र संकल्प गरेका छौं । यस निम्ति म तपाईँहरूको सहयोगको फेरि अपेक्षा गर्दछु । र सँगसँगै तपाईँहरूसँग यो समग्र देशको लागि, माटोको लागि, जनताको लागि र संविधानको लागि र तपाईँहरूको अभिव्यक्ति स्वतन्त्रताको लागि सँगसँगै तपाईँहरूसँग हिँड्ने, समन्वय गर्ने, सहकार्य गर्ने र हामी एउटा उद्देश्य र गन्तव्यमा जाने कुराको लागि पनि म तपाईँहरूको साथमा छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ