arrow

क्यान्सरपछि पनि जिन्दगी छ भन्ने सन्देश दिन मिसेस नेपालको प्रतिस्पर्धामा उत्रिन् कोपिला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
kopila-gayeeka.jpg

काठमाडौँ । संघर्षका अनगिन्ती कथाहरु जोडिएको यात्रा गरिरहेछिन् गायिका कोपिला गौतम । दुई–दुई पटकको क्यान्सर रोगसँग लड्दा लड्दै अहिले उपचारकै क्रममा उनी मिसेस नेपालको उच्च प्रतिस्पर्धा गरिरहेकी छिन् । 

रिबन इन्टरटेन्टमेन्टको आयोजनमा हुने मिसेस नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धा कार्तिक १० गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । जसमा २९ जना फाइनल प्रतिस्पर्धी मिसेस नेपालको ताजको लागि प्रतिस्पर्धा गर्दैछन् ।

चौथो स्टेजको ओभरियन क्यान्सर सर्भाइभरको लडाइँ लड्दा लड्र्दै ३ वर्षमा उनको क्यान्सर दोहोरियो । वंशाणुगत क्यार्सिनोमा क्यान्सर दोहोरिएपछि उपचारको क्रममा उनले भारतको नयाँ दिल्ली जानुपर्यो । नयाँदिल्लीको राजीव गान्धी क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा ६ महिनाको उपचारपछि गत अगस्तमा उनी नेपाल फर्किएकी थिइन् । 

अहिले नेपाल क्यान्सर हस्पिटलमा फलोअपमा छिन् । दोस्रो पटक उनी ब्रेस्ट क्यान्सरको लडाइँको यात्रा गरिरहेकी छिन् । नियतिले उनको जीवनमा परीक्षामाथि परीक्षा थपिरहेको छ । उनी भन्छिन्, ‘रोग र परिस्थितिले मलाई थप बलियो बनाएको महसुस गरेकी छु ।’

केमो सकिएको दोश्रो हप्तामा मिसेस नेपालको प्रतिस्पर्धा शुरु भयो । उनको मनमा प्रतिस्पर्धालाई लिएर धेरै प्रश्नहरु नउब्जिएका होइनन् मिसेस नेपालमा आफ्नो सहभागिताको विषयलाई लिएर सकारात्मक नकारात्मक टिप्पणीहरुको बारेमा । 

बिरामी मान्छे शारीरिक रुपमा प्रतिस्पर्धा गर्न सकिन्छ कि सकिँदैन भनेर । अन्त्यमा सबै स्वीकार गरेर प्रतिस्पर्धामा जाने हिम्मत उनले गरिन् । जुन सामान्य मानिसहरुका लागि सहज थिएन ।

‘क्यान्सरपछि पनि जिन्दगी छ भन्ने सन्देश दिन यो मन्च रोजेकी हुँ’, उनी भन्छिन् । यस प्रतियोगितामा आफ्नो उपस्थितिले क्यान्सरसँग लडिरहेका सबैलाई आत्मबल बढ्ने र समाजले क्यान्सर बिरामीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनेमा विश्वस्त भएर उनी उभिएकी छिन् । 

उनले जीवनमा अर्को एउटा चुनौतीपूर्ण अवसरको सामना गरिन् । विदेशमा रहेका लाखौं नेपालीहरुको दुःखसुखको पक्षमा श्रम आप्रवासनको चुनौतीपूर्ण बिटमा पत्रकारिता गरिन् । जसले उनलाई सिंगै नेपाल र नेपालीको रोजगार, रेमिट्यान्स एवं अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम आप्रवासनको जानकारसम्म बनायो । ‘सुरक्षित आप्रवासनका विषयमा पनि यस मन्चबाट आवाज उठाउनेछु’, उनले थपिन् । 

गौतम यसअघि सन् २००२ को इन्टर कलेज मिस्टर एण्ड मिस ट्यालेन्ट प्रतियोगिताको प्रथम उपाधि विजेता हुन् । लोक तथा दोहोरी गायनमा रुची राख्ने गौतमले दर्जनाैँ गीत बजारमा ल्याएकी छिन् । 
उनको जीवनयात्राको मूल मन्त्र भने आत्मविश्वास आत्मबल नै हो । मिसेस नेपालको सहभागितालाई उनी चुनौती र अवसरको रुपमा लिएको बताउँछिन् ।

जित्छु जस्तो लागेको छ त ? भन्ने प्रश्नमा उनीले भन्छिन्, ‘मेरो यो मञ्चमा उपस्थिति र फाइनलसम्मको यात्रा पनि एक प्रकारको जित नै मानिसकेकी छु । सफल भइन्छ भनेर मेहनत गर्छु, हार र जित त जीवनको एक सिक्काको दुई पाटो हो । स्वीकार्नु पर्दछ ।’ 

कोपिलासँग सम्बन्धित समाचार लिंकहरु-

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ